
असार १७, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको कदमबाट नेता माधवकुमार नेपाल समूहमा ठूलो विभाजन देखिएको छ । ओलीको उक्त कदमलाई माधव समूहका एक थरिले स्वागत गर्न थालेको छन् भने अर्को थरिले ‘झुक्याउने खेति’ भन्दै विरोध गरेका छन् ।
माधव पक्षकी प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यले ओलीको कदम सकारात्मक भएको बताएकी छिन् । उनले ओली धेरै हदसम्म सच्चिएको देखिएको पनि टिप्पणी गरेकी छिन् ।
उनका अनुसार एमाले एकताको लागि पनि ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी हुन आवश्यक छ । ओलीका गलत कदमको विरोध बैठकभित्रै रहेर गर्नुपर्ने तर्क उनको छ ।
‘प्रक्रियामा गलत भएपनि केन्द्रीय समिति बैठकमा सहभागी हुनपर्छ, हामी नेकपा (एमाले)लाई एकताबद्ध गराउन चाहन्छौं, ओली जी पनि यत्तिकै यहाँसम्म आउनुभएको छैन्, उहाँ पनि धेरै कुरा सच्याउँदै, आत्माआलोचित हुँदै आउनुभएको हो ’, शाक्यले संसार न्यूजसँग कुराकानी गर्दै भनेकी छिन्, ‘अझै पनि उहाँको मन प्रफुल्ल छैन्, अझै पनि विधिलाई पूर्णँ स्वीकार गर्नुभएको देखिन्न तर, यी तमाम् विषयलाई आलोचना गर्दै अगाडि बढ्नुपर्छ, उहाँलाई ट्रयाकमा हिँडाउन पनि बैठकमा जानुपर्छ ।’
यता माधव समूहकै अर्की नेतृ रामकुमारी झाँक्रीले भने ओलीले कदम कपटपूर्णं भएको भन्दै भ्रम नपर्न आग्रह गरेकी छिन् । आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने कुरा फर्जी भएको उनको भनाई छ ।
उनले पुरानै उत्पादनमा नयाँ खोल मात्रै लगाइएको भन्दै ओलीको ०७७ फागुन २८ को निर्णयको नाम परिवर्तन गरेको टिप्पणी गरेकी छिन् । उनले भनेकी छिन्, ‘पुरानै उत्पादनमा नयाँ खोल मात्र लगाइएको हो । ग्राहकहरु झुक्निु पर्ने नै छैन । भ्रममा नपरौँ, ओली गुटको बैठकको निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो ।’
माधव समूहको ठूलो टिम स्वागतमा
माधव पक्षको दोस्रो तहका नेतासहितको ठूलो टिम ओली पक्षसँग निरन्तर छलफलमा छ । ओलीको पछिल्लो कदम लगत्तै आफ्नै समूहमा छलफल नगरेका माधव पक्षीय नेताहरु ओली समूहका नेतासँग भने छलफल गर्न पुगेका छन् । बिहीबार बिहान माधव पक्षका नेताहरु घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्यलगायत ओली पक्षका नेताहरुसँग छलफलमा थिए ।
उनीहरुले ‘०७५ जेठ २ को आसपास’ बाट सहमती खोज्नुपर्ने कुरा सार्वजनिक रुपमै बताईरहेका थिए । यसअघि जेठ २३ मा पार्टी एकताका लागि ओलीले गरेको आव्हानमा माधव पक्षका नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतले स्वागत गरेका थिए । ओलीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय पनि माधव पक्षीय नेताहरुको मागअनुसार गरेका हुन् ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार माधव पक्षको मागअनुसार आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको हो । उनका अनुसार यो निर्णय हदैसम्मको लचकता पनि हो ।
बताइअनुसार आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउने ओलीको निर्णयमा सहमत देखिएका माधव पक्षीय ठुलो पंक्ति भोली (शुक्रबार) बोलाइएको बैठकमा सहभागी हुने तयारीमा छन् । सकभर समूहका बहुमत सदस्यलाई सहभागी गराउने योजनामा लागेको पनि बताइएको छ ।
माधव नेपाल एक्लिने खतरा !
ओलीले गठन गरेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई माधव समूहले निरन्तर अवैध भन्दै विरोध गर्दै आएको थियो । अदालतले कर्णाली प्रकरणमा दिएको आदेशमा पनि आयोजक कमिटी अवैध भएको बताएको थियो । तर, अबैध भनिएको उक्त कमिटीलाई नै ओलीले केन्द्रीय कमिटीमा रुपान्तरण गरेका छन् । उनले उक्त कमिटीबाट दिर्घकालिन महत्वका कतिपय निर्णय पनि गरेका छन् ।
तर, आफैंले अबैध भनेको उक्त कमिटीले बनाएको सांगठनिक संरचना र संरचनाको बैठकमा माधव पक्षका बहुमत नेता भने सहभागी हुने तयारीमा छन् । समूहले औपचारिक निर्णय नगरेको भए पनि नेताहरु ओलीले बोलाएको शुक्रबारको बैठकमा सहभागी निर्णयमा पुगेका हुन् ।
यस्तो अवस्थामा नेता माधव नेपाल भने एक्लिने खतरा देखिएको छ । ओलीले बोलाएको बैठकमा आफुँ पक्षका धेरै नेताहरु सहभागी हुने तयारी गरिरहेका बेला माधव नेपाल सीमित नेतासहित एक्लिने जोखिम रहेको देखिन्छ ।
सम्बन्धित समाचार
ओलीले एक तिर चलाउँदा तीन टुक्रामा फुट्यो माधव समूह, कुन कतातिर ?
वि.सं.२०७८ असार १७ बिहीवार १३:०४ मा प्रकाशित