
असार १७, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी समिति बैठक बानेश्वरस्थित एक ब्याङ्क्वेटमा जारी छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्न बैठक बसेको हो । ओलीले माधव पक्षका सबैलाई बैठकमा बोलाउने तयारी गरेका छन् ।
ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी हुने वा नहुने भन्नेमा माधव समूहभित्र दुई खाले धारणा छन् । ओलीले बोलाएको बैठकमा धेरै नेताहरु सहभागी हुनुपर्ने लाईनमा देखिएका छन् । तथापी समूहगत निर्णय भने गर्न बाँकी नै छ ।
बानेश्वरस्थित ब्याङ्क्वेटमा जारी बैठकमा माधव नेपालसहित उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत सहभागी छन् ।
बताइएअनुसार बैठकमा दिल्लीमा उपचाररत नेता झलनाथ खनाल पनि भर्चुअल माध्यमबाट उपस्थित छन् ।
वि.सं.२०७८ असार १७ बिहीवार १४:३२ मा प्रकाशित