असार १७, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी छ । इजलासमा सोमबारदेखि सरकार पक्षका कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् ।
बिहीबार पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता अग्नि खरेलले बहस गरेका थिए । उनीमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित इजलासका अन्य न्यायाधिशहरुले पनि धेरै प्रश्न गरेका छन् ।
बहसमा राणाले संविधानको धारा ७६ को उपधारा २ र ५ बीचको अन्तरबारे प्रश्न गरेका थिए । उनले उपधारा ५ को स्वतन्त्र अस्तित्व रहन्छ वा रहँदैन् भन्ने प्रश्न खरेललाई सोधेका थिए ।
![]()
प्रधानन्यायाधिश राणाले खरेललाई प्रतिनिधि सभा सदस्य संसदप्रति उत्तरदायी हुने कि नहुने भनि प्रश्नसमेत सोधेका छन् । उनले संसद जोगाउन सांसदमा अधिकार हुन्छ कि हुन्न भन्ने प्रश्न गरे ।
खरेलले निर्दलीय व्यवस्था कल्पना नगरिएको बताएपछि प्रधानन्यायाधीशले सोधेका थिए,‘ प्रतिनिधिसभाका सदस्य पार्टीप्रति उत्तरदायी हुन्छन् । संसद्प्रति पनि उहाँको दायित्व हुन्छ । संसद् विघटन हुन थालेपछि उहाँहरूमा अधिकार हुन्छ होला नि त संसद् जोगाउने ?’
राणाको प्रश्नको जवाफमा खरेलले भने दलको निर्णय नै अन्तिम हुने बताएका छन् । ‘ दलको सदस्य भएपछि दलको निर्णय मान्नुपर्छ’, खरेलले भनेका छन् ।
वि.सं.२०७८ असार १७ बिहीवार १५:२२ मा प्रकाशित






























