१७ असार, कतार । कोरोनाको कहरले पिल्सिएको मातृभूमिका लागि कतारमा व्यवसाय सन्चालन गरेर बसेका नेपाली व्यवसायीहरुले एक करोड बढीको स्वास्थ्य सामग्री नेपाल पठाएका छन् ।
नेपाली दूतावासको सहकार्य र कतारमा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन नेपाल विजनेश एसोसियसन कतार (NBAQ) ले १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, २१०० थान पल्स अक्सिमिटर र ५० वटा नोजल क्यानुला सहयोग गरेको एसोसियसनका अध्यक्ष महेन्द्र चौलागाईले बताएका छन् ।
अध्यक्ष चौलागाईँका अनुसार त्रिभुवन विमानस्थलमा आयोजित हस्तान्तरण कार्यक्रममा एसोसिएसनका प्रमुख सल्लाहकार टिवी कार्की र पदाधिकारीको उपस्थितिमा उक्त सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई हस्तान्तर गरिएको थियो ।
एसोसियसनका अध्यक्ष चौलागाईँको संयोजकत्वमा गठित ‘कोभिड–१९ क्राइसिस रिलिफ एण्ड सर्पोट सर्भिस ग्रुपठ्ठले कतारमा रहेका नेपाली व्यवसायीहरु तथा अन्य दाताबाट रकम संकलन गरिएको बताइएको छ ।
उक्त सहयोग रकम कतारमा रहेका ५० जना नेपाली व्यवसायीले ६४ हजार देखि ९ लाख ८० हजार रुपैयाँ सम्म सहयोग गरेको एसोसिएसनका महासचिव रमेश भट्टले बताएका छन् । व्यवसायीहरुको उक्त अभियानमा नेपाली दूतावास कतारका राजदूत नारदनाथ भारद्धाजले पनि रु एकलाख सहयोग गरेको बताइएको छ ।

वि.सं.२०७८ असार १७ बिहीवार १५:१६ मा प्रकाशित




























