असार २०, काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा आइतबारको सुनुवाइ सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायी मेघराज पोखरेलले बहस थालेका छन्।
सभामुखका तर्फबाट आज उपेन्द्रकेशरी न्यौपाने, लव मैनाली, श्याम खरेल, मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्। बहसका लागि उनीहरुलाई इजलासले दुई घण्टा समय दिएको छ ।
बहस सुरु गर्दै अधिवक्ता मेघनाथ पोखरेलले संविधानको धारा ७६ (५) मा ह्वीप नलाग्ने बताएका छन् । उनले धारा ७६ को उपधारा ५ मा ह्वीप लाग्छ भनेर नलेखिएको तर्क गरे ।
‘७६ (२) र ७६(५) मा के फरक छ ? ७६ (५) संविधानमा किन थपियो ? यसको सही व्याख्या नै अहिलेको मुख्य विषय हो’, पोखरेलले भने, ‘७६(५) मा ह्वीप लाग्छ भनेर कहीँ लेखिएको छैन । संवैधानिक रूपमा यो धारामा ह्वीप लाग्ने व्यवस्था छैन ।’
यसअघि गत आइतबार रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको थियो । त्यसपछि सोमबारदेखि सरकार पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । शुक्रबार सरकार पक्षका कानुन व्यवसायीको बहस सकिएपछि आज सभामुखका कानुन व्यवसायीले बहस गर्न लागेका हुन् ।
आइतबार सभामुखका कानुन व्यवासायीको बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। जवाफी बहसका लागि ३ घण्टा समय तोकिएको छ।
वि.सं.२०७८ असार २० आइतवार १२:३७ मा प्रकाशित






























