२२ असार, काठमाडौं । मेलमिलापका लागि निर्वाचन आयोग पुगेका जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले आफूहरु मिल्न नसक्ने भन्दै निर्वाचन आयोगलाई प्रक्रिया अनुसार अगाडि बढ्न आग्रह गरेका छन् ।
आन्तरिक मेलमिलाप गर्नका लागि निर्वाचन आयोगले मंगलबार जसपाका नेताहरुलाई कान्तिपथस्थित आयोगको कार्यालयमा बोलाएको थियो ।
त्यहाँ उपस्थित भएका जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले आफूहरु नमिल्ने बताउँदै आयोगलाई प्रक्रिया अनुसार अगाडि बढ्न भन्दै हस्ताक्षर गरेर फर्किएका हुन् ।
पार्टीमा विवाद चलिरहँदा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा जसपाका केही नेता प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अध्यक्ष यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारीकता दावी गर्दै आयोगमा निवेदन दिएका थिए ।
आयोगले ठाकुर पक्षलाई यस विषयमा १५ दिनभित्र जावाफ मागेको थियो । ठाकुर पक्षको जवाफपछि आयोगले दुवै पक्षका नेताहरुलाई मेलमिलापका लागि बोलाएकोमा उनीहरुले मिल्न नसकिने भन्दै आयोगलाई नियम अनुसार अगाडि बढ्न भनेका थिए ।
आयोगमा पुगेका पार्टीका नेता अनिल कुमार झाले मिल्न सक्ने कुनै सम्भावना नभएकाले दुवैले अलग हुने भन्दै हस्ताक्षर गरेको जानकारी दिएका छन् ।
‘ हामी मिलेर जान सकेनौं। हामीलाई अलग गरिदिनुस् भनेर माइन्युटमा सही गरेर आइसकियो,’ आयोगबाट बाहिरिने क्रममा झाले भने ‘उपेन्द्रजीबाट एकसाथ जान सकिँदैन भन्ने कुरा आयो ।’
वि.सं.२०७८ असार २२ मंगलवार १३:५८ मा प्रकाशित






























