असार २७, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको खेल निकै घृणित रहेको टिप्पणी गरेका छन् । आइतबार बिहान एक अपिल पत्र जारी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले आफुँ निकटका दलालहरुलाई निगम बुझाउने दाउ गरेको भट्टराईको आरोप छ । भट्टराईले क्रोनी क्यापिटालिज्जमको अत्यन्तै नग्न रुप भएको पनि टिप्पणी गरेका छन् ।
‘ नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट जुन प्रपञ्च हुन गइरहेको छ, त्यो अत्यन्त निन्दनीय र घृणित रहेको छ,’ भट्टराईले भनेका छन्, ‘यसको भित्री अभिष्ट भनेको उनको नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोष्नु रहेको छ । क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ ?’
उनका अनुसार प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमा यस्तो कदम चालेका हुन् । जुन कदम निकै असह्य भएको उनले बताएका छन् ।
भट्टराईले भनेका छन्, ‘आफू सरकारमा रहने अनि आफैले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी तुल्याएपछि संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्रि गर्ने जुन षड्यन्त्र भैरहेछ त्यो कुनै पनि हालतमा नेपाली जनतालाई सह्य छैन । यसको पछाडि थुप्रै प्रश्नहरु अनुत्तरित रहेका छन् । के ओली सरकारसँग त्यसको जवाफ छ ? ’
भट्टराईले अहिले नै निगमको ऋण दायित्व रु ४६ अर्ब पुगिसकेको बताउँदै यसबाहेक पनि अन्य अर्बौं रकम दायित्व रहेको बताएका छन् ।
“के यस्तो हालतमा सञ्चालनमा रहेको निगमले यति ठूलो दायित्व भुक्तानी गर्ने क्षमता राख्दछ ? निगमको आर्थिक अवस्था यति नाजुक र जर्जर भइसकेको छ कि यसले कर्मचारीहरुको तलब भुक्तानी र अन्य कार्यसञ्चालन गर्न पनि बैंकबाट ऋण प्राप्त गरिरहेको छ,” उनले भनेका छन्, “प्राविधिक रुपमा भन्ने हो भने निगमलाई विघटनको अवस्थामा पुर्याइसकेको छ । के निगमको व्यवस्थापन, सञ्चालक समिति र वर्तमान सरकारसँग समस्यालाई समाधान गर्न विकल्प सहितकोे रणनैतिक योजना छ ? हाल गर्न खोजिएको निगमलाई पब्लिक लिमिटेड कम्पनीको रुपमा रुपान्तर गर्दैमा समस्याको समाधान हुन्छ ? के यसको अचुक औषधि निजीकरण हो ? यो विल्कुल होइन । आफ्ना कमीकमजोरीहरुलाई ढाकछोप गर्ने र माथि भनिएजस्तो आफ्नो नजिकका दलाल पुँजीपतिहरुलाई कौडीको मूल्यमा निगमको सम्पत्ति बिक्री गर्ने मनसायबाट यो योजना सतहमा ल्याइएको छ ।”
यस्तो छ अपिल
वि.सं.२०७८ असार २७ आइतवार १२:४० मा प्रकाशित






























