१. पृष्ठभूमि
नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ र सहरको बीचमा पर्ने बस्तीहरूलाई व्यवस्थित रूपमा विकास गर्ने अवधारणालाई बुझाउँछ। यसले बसाइँसराइ रोक्न, ग्रामीण–सहरी सम्बन्ध मजबुत बनाउन र आधारभूत सुविधाहरूः पानी, बिजुली, सडक, फोहोरमैला व्यवस्थापनको विस्तार गरी ती सहरहरूलाई आर्थिक वृद्धिको केन्द्र बनाउने लक्ष्य राखेको छ ।नेपालमा क्षेत्रीय सन्तुलित विकास र साना सहरको अवधारणा सर्वप्रथम चौथो योजना (२०२८–२०३२) मा डा. हर्क गुरुङद्वारा ल्याइएको थियो । यसपछि नवौं योजना (२०५४–२०५८) ले ग्रामीण गरिबी निवारण र सन्तुलित सहरीकरणका लागि साना सहर र बजार केन्द्रहरूको विकासमा जोड दियो । तत्कालीन सहरी विकास मन्त्रालय र शहरी विकास कोषले विभिन्न अवधिका योजनाहरू जस्तैः साना शहरमा खाने पानी र सरसफाइमार्फत यी क्षेत्रहरूमा लगानी गर्दै आएका छन् ।
२.मध्य पहाडी लोकमार्गका १० साना सहरहरु
नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभागले मध्य पहाडी लोकमार्गको करिडोरमा बसाइसराइ रोक्न र नयाँ व्यवस्थित सहर बसाल्ने उद्देश्यले आर्थिक वर्ष २०६८÷६९ मा १० वटा आधुनिक सहरहरू छनोट गरी विकास सुरु गरेको थियो ।
शुरुका दश साना सहरहरू यस प्रकार छन् —
१. पाटन (बैतडी) २. सॉफेबगर (अछाम), ३. राकम कर्णाली (दैलेख), ४. चौरजहारी (रुकुम), ५. बुर्तिबाङ (बागलुङ), ६. डुम्रे भन्सार (तनहुँ), ७. बैरेनी गल्छी (धादिङ), ८. खुर्काेट (सिन्धुली), ९. बसन्तपुर (तेह्रथुम), र १०. फिदिम (पाँचथर) ।
नेपालमा अहिले अन्य स्थानहरूमा पनि साना शहरको विकास बढ्दैछ । यसले ग्रामीण क्षेत्रहरू र ठूला शहरहरूलाई जोड्न मद्दत गर्छ र क्षेत्रीय विकासमा समावेशी र समानतापूर्ण भूमिका खेल्छ । शहरीकरणले शिक्षा, रोजगार र अन्य सुविधाहरूको अवसर बढाउँदैछ, जसले ग्रामीण क्षेत्रबाट शहरतर्फ प्रवासन बढाउँछ । यसको प्रभावले आर्थिक, पर्यावरणीय र सामाजिक क्षेत्रमा चुनौतीहरू उत्पन्न हुन्छन् । तर साना शहरको विकासले संतुलित विकासको मार्ग खोल्न सक्छ ।
३.खुर्कोट साना सहर विकास योजना
खुर्कोट, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा अवस्थित, मध्य पहाडी लोकमार्ग र बीपी राजमार्गको संगमस्थलमा रहेको एक रणनीतिक तथा व्यापारिक केन्द्र हो ।खुर्काेट सुनकोशी नदीको किनार तथा महाभारत पर्वतको फेदीमा अवस्थित छ । यो सहर वरिपरि सडक सञ्जालहरू (धुलिखेल–बर्दिबास, रामेछाप जोड्ने बाटो, र कटारी जाने बाटो) ले जोडिएको छ ।नेपालमा साना शहर विकास कार्यक्रमले मध्य हिमालय राजमार्गको बीचमा १० वटा नयाँ शहरहरू विकास गर्ने लक्ष्य राखेको छ । यसको आरम्भ २०६८ भदौमा सरकारले गरेको थियो । यस प्रयोजनका लागि खुर्कोटको लगभग २० वर्ग किमी क्षेत्र लागू भएको छ । वर्तमानमा बासस्थान, सडक, बिजुली र जल आपूर्ति सुविधा विकास भएका छन् । स्थानीय जनताले उद्योग र रोजगारको अवसरमा आशा गर्छन् तर योजनामा चुनौतीहरू जस्तै जग्गा धनी प्रमाण पूर्जा, पर्यावरण प्रभाव र स्थानीय जनसहभागिताको कमी छ ।
४.हालसम्मको प्रगति
सहरी विकास मन्त्रालयले ‘खुर्कोट एकीकृत विकास योजना’तयार पारेर पूर्वाधार विकासको खाका बनाएको छ । केही सडक स्तरोन्नति र सहरी खानेपानी आयोजनाहरू अघि बढाइएका छन् । यद्यपि, हालसालैका वर्षहरूमा आएको बाढीले यहाँको पुल र भौतिक संरचनामा केही क्षति पु¥याएको थियो, जसले गर्दा पुनःनिर्माणका कार्यहरू पनि गर्नुपरेको छ ।
५.स्थानीय जनताको दृष्टिकोण
स्थानीय स्तरमा पक्की घर र सुविधाहरू बढ्दै गए पनि, स्थानीय बासिन्दाहरूले साँचो अर्थमा जीवनस्तरमा खासै सुधार महसुस गर्न सकेका छैनन् । व्यापार र नयाँ होटल÷लजको व्यवसाय प्रायः बाहिरी जिल्लाबाट आएका व्यापारीहरूको हातमा केन्द्रित छ । स्थानीय मूलबासी (जस्तैः माझी समुदाय) र अन्य किसानहरूले पर्याप्त रोजगारी वा आर्थिक लाभ पाउ‘न सकेका छैनन् र धेरै युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
६.खुर्कोट शहर विकासमा स्थानीय जनताको भूमिका
खुर्कोट, सिन्धुली जिल्लाको प्रमुख बजार क्षेत्र हो, जुन बीपी राजमार्ग (पूर्व–पश्चिम मध्य–पहाडी राजमार्ग) को मुख्य केन्द्रको रूपमा विकसित भइरहेको छ। यहाँ स्थानीय निवासीको भूमिका निम्नानुसार छः
६.१ सहभागितामूलक मूल्याङ्कनमा संलग्नता
खुर्कोट र बैरेनीको एकीकृत विकास योजना तर्जुमाका क्रममा सहभागितामूलक द्रुत मूल्याङ्कन गरिएको थियो । यस अन्तर्गत स्थानीय नागरिकहरूलाई उनीहरूको सुविधा अनुसारको स्थानमा भेला गराएर सामुदायिक–स्तरका समस्या र आवश्यकताहरू पहिचान गरिएको थियो । यसले देखाउँछ कि योजना निर्माणको प्रारम्भिक चरणमै स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गर्ने प्रयास गरिएको थियो ।
६.२ जग्गा व्यवस्थापन र भूमि पूलिङ्ग
साना शहर विकासका लागि जग्गा पूलिङ्ग मोडेल अपनाइन्छ, जहाँ स्थानीय जग्गाधनीहरूले आफ्नो जग्गा विकासका लागि उपलब्ध गराउँछन् र बदलामा पूर्वाधारसहितको प्लट प्राप्त गर्छन् । यसमा स्थानीय बासिन्दाको सहमति, सहकार्य र सक्रिय सहभागिता अनिवार्य हुन्छ।
६.३ स्थानीय तहको माध्यमबाट निर्णय प्रक्रियामा सहभागिता
नेपालको संघीय संरचनाअनुसार, खुर्कोट क्षेत्र गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिकाको सम्पर्कमा रहेको छ । स्थानीय तहमा वडा स्तरीय योजना, गाउँ÷नगर सभा र सार्वजनिक सुनुवाईमार्फत स्थानीय बासिन्दाले आफ्नो माग र आवश्यकता राख्न पाउँछन् ।
६.४ आर्थिक तथा व्यावसायिक भूमिका
खुर्कोट बीपी राजमार्गको मुख्य व्यापारिक केन्द्र भएकाले, स्थानीय व्यवसायी, उद्यमी र सहकारी संस्थाहरू यहाँको शहरी विकासका मुख्य संचालक हुन्। उनीहरूले बजार विस्तार, होटल, यातायात र सेवा क्षेत्रमा लगानी गरेका छन् । तर यी लागानी स्थानीय जनताको जीवनस्तर उकास्न पर्याप्त देखिदैन ।
७.खुर्काेट सहरी विकासका फाइदा र बेफाइदाहरू
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा पर्ने खुर्कोट, बीपी राजमार्ग र मध्य पहाडी लोकमार्गको संगमस्थलमा अवस्थित एक द्रुत गतिमा विकास भइरहेको सानो सहर हो । यो ठाउँ काठमाडौं, तराई र छिमेकी जिल्लाहरू (रामेछाप, ओखलढुंगा, खोटाङ्ग र उदयपुर) जोड्ने प्रमुख व्यापारिक केन्द्र हो।खुर्काेट सहरी विकासका मुख्य फाइदा र बेफाइदाहरू यस प्रकार छन्ः
७.१ सहरी विकासका फाइदाहरू
उत्कृष्ट यातायात सम्पर्कः बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग (मध्यपहाडी लोकमार्ग) को मिलनबिन्दु खुर्कोटमा सुनकोशी नदीमाथिको पुलले यसलाई एक प्रमुख ट्रान्जिट हब बनाएको छ । यसले काठमाडौं र पूर्वी तराईको यात्रा दूरी र समय घटाएको छ।
व्यापार र रोजगारी वृद्धिः सडक सञ्जालको विस्तारले स्थानीय बजार, साना तथा मझौला उद्योगहरू, होटल र पसलहरूको संख्यामा वृद्धि गरेको छ। कृषि उपजको बजारीकरण सहज भई स्थानीय बासिन्दाको आयआर्जनमा सुधार आएको छ।
सुविधामा सहज पहुँचः सहर विकास भएसँगै खुर्कोटमा दुई वटा अस्पताल, फार्मेसी, शैक्षिक संस्था र बैंकिङ सुविधाहरू विस्तार भएका छन्, जसले स्थानीय बासिन्दा र यात्रुहरूलाई गुणस्तरीय सेवा प्रदान गरेको छ ।
पर्यटनको सम्भावनाः नजिकै रहेको ऐतिहासिक पौवा गढी, सिन्धुलीगढी, ऐतिहासिक युद्ध सङ्ग्रालय र सुनकोशी नदीको तटले गर्दा यो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदैछ, जसले बाह्य तथा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्छ ।
७.२ सहर विकासका बेफाइदाहरू
कृषि योग्य जमिनको विनाशः सहरको विस्तारसँगै खुर्कोट क्षेत्रका फाँटहरू र खेतीयोग्य जमिनमा प्लटिङ गर्ने र घर बनाउने क्रम बढेको छ, जसले परम्परागत कृषि उत्पादनलाई नकारात्मक असर गरिरहेको छ । साथै शहरी विकास कार्यालयले स्थानीय जनताले परम्परादेखि खेतमा सिंचाइका लागि उपयोग गर्दै आएको कुलो (सिंचाइ सुविधा) मास्न खोजिदै छ भत्रे हल्लाले सम्बन्धित कृषकहरु चिन्तित देखिन्छन् । यो कुलो मास्न पाइदैन र स्थानीय जनताको रोजी रोटी हरण गर्ने काम भएमा सरकार र स्थानीय जनताको बीचमा द्वन्द्व सिर्जना हुने अवस्था छ । बेलैमा कुलो सहज रुपमा चालु राख्न आधिकारिक निर्णय गर्न सके द्वन्द्व समाधान हुनेछ ।
वातावरणीय तथा प्राकृतिक विपद्को जोखिमः पहाडी भूगोल र सुनकोशी नदीको किनारमा अवस्थित भएकाले यस क्षेत्रमा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम रहन्छ।
नियोजित विकासको अभावः योजनाबद्ध विकासको कमीका कारण सहरीकरण अव्यवस्थित बन्दै गएको छ । सरकारीस्तरबाट ‘नमूना सहर’ बनाउने योजना घोषणा भए पनि पर्याप्त बजेट अभावका कारण त्यो कार्य सुस्त गतिमा अघि बढेको देखिन्छ।
बढ्दो महँगी र सामाजिक परिवर्तनः व्यापारिक केन्द्र बन्नासाथ यहाँ जग्गाको भाउ र दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको छ, जसले निम्न आय भएका स्थानीय बासिन्दालाई जीवनयापन गर्न गाह्रो बनाउँदै लगेको छ।
समग्रमा, खुर्कोटको विकासले स्थानीय स्तरमा आर्थिक समृद्धि, रोजगारी र बाह्य पहुँच पु¥याएको भए पनि प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्दै अव्यवस्थित सहरीकरणलाई रोक्नु यसको प्रमुख चुनौती हो ।
८.साना शहरी विकासकाचुनौती र सिकिएका पाठ
मुख्य चुनौती भनेको नदी कटान र बाढीको जोखिम, जग्गाको अस्वाभाविक मूल्यवृद्धि, सुव्यवस्थित फोहोरमैला व्यवस्थापनको अभाव, र स्थानीयलाई लाभान्वित गर्ने साना तथा मझौला उद्योगको कमी हो ।
खुर्काेट साना सहरी विकासका प्रमुख चुनौतीहरू यस प्रकार छन् —
८.१ उत्पादनशील जमिनको क्षति
बढ्दो सहरीकरण, जनसंख्याको चाप र जग्गाको खण्डीकरणका कारण खुर्कोटका उर्बर कृषि भूमि तीव्र रूपमा घटिरहेका छन् ।उर्वर जमिनहरू घर, पसल, र सडक पूर्वाधारमा परिणत हुँदा स्थानीय स्तरमा खाद्यान्न उत्पादनमा कमी आएकाले खाद्य तथा पोषण सुरक्षामा गंभीर चुनौती थपिएको छ ।
८.२ विकास निर्माणमा ढिलासुस्ती
बजेट अभाव र ढिलाइले खुर्काेटमा ‘नमुना सहर’ विकासको योजना अघि सारिएको भए तापनि पर्याप्त बजेट अभाव र सरकारी निकायबीचको समन्वयको कमीले काम निकै सुस्त छ ।सुनकोशी नदीको बाढी र पहिरोले बेलाबेलामा खुर्काेट र आसपासका सडक तथा पूर्वाधारमा क्षति पु¥याउने गरेको छ, जसले गर्दा निर्माण कार्य र मर्मतमा बारम्बार ढिलाइ हुने गरेको छ ।
८.३ जग्गा किनबेचमा अवरोध र विवाद
मूल्याङ्कन र मुआब्जा विवादः सडक विस्तार तथा अन्य पूर्वाधार निर्माण गर्दा सरकारले दिने मुआब्जा अपर्याप्त हुने भएकाले जग्गाधनीहरूले आफ्नो जमिन दिन आनाकानी वा विरोध गरेको देखिन्छ ।दलाली प्रथा र मूल्य वृद्धिले खुर्काेट जस्तो रणनीतिक सडक केन्द्रमा बिचौलियाहरूको हाबी छ ।
जग्गाको कृत्रिम मूल्य बढ्ने र कतिपय जग्गाधनीहरूले भविष्यमा झन् बढी मूल्य पाउने आशमा जग्गा नबेची होल्ड गरी राख्ने गर्नाले विकासका लागि जग्गा प्राप्तिमा गम्भीर समस्या पैदा भएको छ ।खुर्काेटको दिगो विकासका लागि स्थानीय सरकार र पूर्वाधार विकास मन्त्रालयले स्पष्ट भू–उपयोग नीति, उचित मुआब्जा प्रणाली र जग्गा व्यवस्थापनलाई छिटो कार्यान्वयन गर्न जरुरी देखिन्छ ।
८.४ सिकिएका पाठ
गुरुयोजना बिना सहर घोषणा गर्दा र पर्याप्त बजेट विनियोजन नहुँदा कामको गति सुस्त भएको छ । योजना निर्माणमा स्थानीय समुदायको सक्रिय सहभागिता, बाढी–पहिरो जस्ता वातावरणीय जोखिम न्यूनीकरण, र स्थानीय बासिन्दाको आयआर्जनलाई जोड्न नसके दिगो विकास असम्भव हुने देखिन्छ ।
खुर्कोट साना शहरी विकासको डिजाइनमा गंभीर त्रुटी रहेको पाइएको छ । यसको क्षेत्र कुलो माथिको भागमा किटान हुनु पर्नेमा अति उर्वर सिंचित क्षेत्रमा पारीएकाले उब्जाउ भूमि नोक्सान हुुन पुगेको छ । खुर्कोट पहिलेको अन्न भकारी (व्रेड बास्केट) क्षेत्र थियो । यसले रामेछाप जिल्लाका जनतालाई धान, चामल,मकै, गहु, तरकारी आदि निर्यात गर्ने गर्दथियो । तर अहिले यो क्षेत्रमा खाद्यात्रको अभाव हुन थालेको देखिन्छ । सुरुमा जनतालाई धेरै सपना देखाइयो तर पछि यो आसा निरासामा बदलिएको छ । थोरै जमीन हुने गरिब किसानहरुको जग्गा बाटोमा परेकाले गम्भिर आर्थिक संकटको चपेटामा परेका छन् ।
९. निष्कर्ष
खुर्कोट जस्ता साना सहरहरूको विकास ग्रामीण–सहरी अन्तर हटाउन र आर्थिक चलायमान बनाउन निकै महत्वपूर्ण छ । खुर्कोटलाई दिगो सहर बनाउनका लागि नक्सामा बनाइएका एकीकृत विकास योजनाहरूलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ । यसका लागि बाढी नियन्त्रण, स्थानीय उत्पादनको बजारीकरण, र बाहिरी लगानीसँगै स्थानीय बासिन्दाको आर्थिक सशक्तीकरणमा जोड दिनु आवश्यक छ । अन्त्यमा, खुर्कोट सहरको विकास भनेको ग्रामीण र शहरी क्षेत्रको अन्तरलाई कम गर्दै सन्तुलित आर्थिक वृद्धि हासिल गर्ने एक महत्वपूर्ण प्रयास हो । यसको रणनीतिक अवस्थिति नै सबैभन्दा ठूलो सम्भावना हो । यदि सरकारले यहाँ आवश्यक बजेट र स्रोत साधन समयमै उपलब्ध गराएमा र विपद् व्यवस्थापनमा बलियो रणनीति अपनाएमा खुर्कोट छिट्टै नै मध्य नेपालको एक प्रमुख, व्यवस्थित र समृद्ध आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित हुन सक्ने संभावना छ । यसको विकासले सिन्धुली लगायत छिमेकी जिल्लाहरूको समेत जीवनस्तर उकास्न ठूलो भूमिका खेल्नेछ । यसको एउटा चुनौती भने जनसंख्या घट्दो र युवा जनशक्ति पलायन हु‘दै जानु हो । विकास नीतिहरूमा सामाजिक सुरक्षा, मानव संसाधन विकास र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनु आवश्यक छ।धेरै लामो समयदेखि जग्गा कित्ताकाट रोक्का राखिएकाले स्थानीय जनताबैंकबाट लिइएको ऋण चुक्ता गर्न कठीनाई भइउद्योग व्यवसाय सञ्चालन गर्न नसकेर निकै मारमा परेको जनगुनासो छ । स्थानीय अर्थतन्त्र चलायमान बनाउ‘न जग्गाको किनबेच सजिलो पार्न तुरुन्त रोक्का जग्गाकोकित्ताकाट फुकुवागर्नु पर्ने देखिन्छ । साथै स्थानीय जनताको जीवनस्तर रुपान्तरण गर्न शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन र रोजगारीका लागि आर्थिक विकासका कार्यक्रमसञ्चालन गर्नु जरुरी छ । यसको लागि स्थानीय तहको सरकार, प्रदेश सरकार र नेपाल सरकारको बेलैमा ध्यान जान आवश्यक छ । अस्तु ।
वि.सं.२०८३ जेठ २३ शनिवार ०८:५८ मा प्रकाशित





























