साउन ३, काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको ११ देशका राजदूतहरुको नियुक्तिसम्बन्धी निर्णय खारेज गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ओली नेतृत्वको सरकारले गरेको राजदूत नियुक्तिसम्बन्धी निर्णयलाई खारेज गर्ने निर्णय गरेको हो ।
संसदीय प्रक्रिया छलेर नियुक्ति गरिएको कारण खारेज गरिएको एक मन्त्रिले बताए । ‘संसदीय प्रक्रिया छलेर मन्त्रिपरिषद्बाट गरिएका सबै निर्णय खारेज भएको हो,’ ती मन्त्रीले भने, ‘त्यसमा राजदूत नियुक्ति पनि एक हो ।’
ओलीले प्रतिनिधि सभा विघटन पूर्व गत जेठ १ मा योजनाबद्ध रुपमा ११ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए । उनले अस्ट्रियामा निर्मलराज काफ्ले, श्रीलंकामा रमेशचन्द्र पौडेल, इजिप्टमा जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियामा कृष्णचन्द्र शर्मा, रसियामा जंगबहादुर चुहान, अष्ट्रेलियामा सुम्निमा तुलाधारलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यस्तै, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा सुमित्रा सुवेदी, साउदी अरबमा मेराज मुसलमान र बहराइनमा युवराज कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो। उनीहरुमध्ये कार्कीको योग्यता नपुगेको कारण देखाउँदै सर्वोच्चले रोक लगाएको थियो। संसद नभएका बेला उनीहरुलाई संसदीय सुनुवाइबेगर नै नियुक्त गरिएको थियो।
वि.सं.२०७८ साउन ३ आइतवार १२:५० मा प्रकाशित




























