४ साउन, काठमाडौं । अमेरिकी सरकारद्धारा अनुदानमा प्राप्त कोरोना भाइरसविरुद्धको ‘जोनसन एण्ड जोनसन खोप आजदेखि लगाइदैछ ।
अमेरिकी कम्पनी कोभ्याक्स कार्यक्रम अन्तर्गत आएको १५ लाख ३४ हजार ८५० डोज खोप, खोप पुगि नसकेका दुर्गम जिल्ला बाहेक अन्य सबै जिल्लामा आजदेखि लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्धारा जारी सूचना अनुसार जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समुहका व्यक्ति, अपाङ्गता भएकाहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु सरसफाई कर्मचारी लगायतलाई लगाइनेछ ।
जोनसन एण्ड जोनसन खोप काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म लगाइने छ ।
स्मरण रहोस् सरकारले यसअघि असार २९ देखि साउन २ गतेसम्म चिनियाँ खोप भेरोसेल लगाउने अभियान सुरु गरेको थियो । तर, मौजुदा रहेको खोप सकिएको भन्दै समयअवधि अगावै खोप कार्यक्रम स्थगित गरेको थियो ।

वि.सं.२०७८ साउन ४ सोमवार ०७:२७ मा प्रकाशित






























