
राजनीतिलाई दोष दिएर मात्र, नेताहरुलाई गाली गरेर मात्र हाम्रो जिम्मेवारी पुरा हुन्छ? राज्यको महत्वपूर्ण अंग हामी नागरिक हौं। हामी के गर्दैछौं? किन हाम्रा लागि विदेशिनु नै पहिलो विकल्प बनेको छ ? विदेशमा १६ घण्टा काम गर्न सक्ने हामी किन आफ्नो देशमा फर्के पछि सबै सधैं छुट्टीमा आएको लाहुरे बन्दिन्छौं ? किन हाम्रा चोक-चोकमा बाह्रमासै क्यारमबोर्ड र जुवाको खालमा भीड रहन्छ, अनि हाम्रा खेतबारी बाँझै रहन्छन् ?
आँफैलाई पनि प्रश्न गरौं, आम जनताको रुपमा हामीले आँफुले गर्न पर्ने जति गरेका छौं त ? हामीले नागरिकको कर्तव्य निर्वाह गर्यौं त? किन बुढा भएका आमा-बुवाले छोरो विदेश नगए बिग्रेको ठान्छन् ? किन श्रिमतीले पतिलाई विदेश पठाउन मरिहत्ते गर्छन् ? कति स्वाभाविक हामीलाई अर्काको लागि काम गरिदिन ?
लाहुरे संस्कृतिले देशलाई ठुलो क्षति गरेको छ। लाहोर राजधानी भएका पन्जाबका राजाले गोर्खालीहरुलाई सेनामा लिन थालेपछि सन १८०९ म शुरु भएको थियो लाहुरे चलन। १८१२ तिर एकजना अङ्रेज क्याप्टेनले पहाडी केटाहरुलाई अनौपचारिक रुपमा जम्मा पारेर तालिम दिन शुरु गरेका थिए। शुरु-शुरुमा लाहुरे त्यति सम्मानजनक शब्द थिएन। पछि गोर्खाली सेना र अङ्रेज बीच लडाईं भयो। त्यो लडाईं नटुंगिदै अङ्रेजले शिर्मूर बटालियन शुरु गरे। र सुगौली सन्धी पछि सन १८१७ बाट बङाल नेटिभ इन्फैन्ट्रीको नाममा गढ्वाली, कुमाउनी र गोर्खालीहरुलाई अङ्रेजी सेनामा लिन शुरु गरियो। पछि त्यही गोर्खा रेजिमेन्ट भयो। ब्रिटिशहरु भारतबाट जाँदा केही रेजिमेन्ट लिएर गए – मलाया र हङकङमा प्रयोग गर्नका लागि र केही भारतीय सेनामा नै रहे।
हामी लाहुरेहरुको रवाफ नजिकबाट देखेर हुर्केका हौं। झन् मलायाको लाहुरेको त भन्नै परेन। यो लाहुरे सन्स्कारले नै हामी नेपालीहरुका लागि विदेशिनु अति नै सामान्य बनाइदियो। अहिले त पहिलो विकल्प नै विदेशिनु हुन्छ हाम्रा युवाहरुको।
यहीँको परिस्थितीमा यसलाई हेर्दा धेरैलाई यो अतिनै सामान्य र प्राकृतिक कुरा लाग्न सक्छ। आजको विश्वव्यापीकरणको जमानामा के ठुलो कुरो भयो त भन्ने प्रश्न उठ्न सक्छ। अझै, देशको परिस्थिती यस्तो छ, युवाहरु विदेश नगएर यहाँ के गर्ने त भन्ने स्वाभाविक प्रतिकृया आउन सक्छन्।
म एउटा उदाहरण यहाँ दिन्छु।
भारतीय सेनामा अधिक्रितको परीक्षाका लागि त्यहाँको लोकसेवा आयोगको (नेश्नल डीफेन्स एक्याडेमी, पुणे) को फारम भर्दा त्यहाँ चार वटा विकल्प थिए।
१ भारतीय नागरिक
२ नेपाली नागरिक
३ भुटानी नागरिक
४ तिब्बती शरणार्थी ( परिवार १९८० भन्दा अघिदेखी भारतमा बसोबास गर्दै आएको हुन पर्ने )
माथि लेखिएका यी प्रकारका ‘नागरिक’हरु भारतीय सेनामा जान पाउँछन्। तर मैले मेरो १४ वर्षको अनुभवमा एउटा पनि भुटानी भारतीय सेनामा भेटिन। म भुटान पनि बसें, दुई वर्ष। त्यहाँको शासक वर्ग भारत परस्त छ। हाम्रो भन्दा कति हो कति, तर जनतामा एक प्रकारको स्वाभिमान छ जसले गर्दा उनीहरुका लागि विदेशी सेनामा काम गर्नु सोच्न पनि नसकिने कुरो भएर आउँछ।
अब सोचौं त? हामी नागरिकको केही जिम्मेवारी छैन? नेताहरु हाम्रै समाजबाट आएका हुन्, दु:खको कुरो हामीले चुनेका हौं। हामी चुन्छौं, तीनैबाट आस गर्छौं, तीनैलाई भन्सुन गर्छौं अनि फेरी तीनैलाई गाली गर्छौं र आँफु उम्किन खोज्छौं। हामीले कस्लाई झुक्क्याउन खोजेको? आँफैलाई? नेताहरुलाई? कि हाम्रो आउँदो पुस्तालाई?
***
यी त समस्याहरु भए।
मेरो आफ्नै लागि एउटा नियम छ- आँफुले फेर्न सक्ने कुराको चिन्ता गर्ने, आँफुले फेर्न नसक्ने कुराको चासो मात्र लिने! त्यसैले अब समाधान तिर लागौं।
राजनीतिको सुधारका लागि, विकल्पको कुरा र राजनीतिक संस्कारका कुरा आफ्नै ठाउँँमा छन्। छिट्टै नै त्यो कुरा गरौंला- बेग्लै। अहिले ध्यान केन्द्रित गरौं हामी, आम नेपाली जनता, तपाईं, म र हामी जस्तै करोडौं अरु, हामीले गर्न सक्ने कुरा माथि।
संकटबाट गुज्रेका देशहरुले प्रगति गरेका थुप्रै उदाहरणहरु हामी सँग छन्। बिकासका फरक फरक मोडल छन्। नेत्रित्वका बेग्ला-बेग्लै चरित्र छन्। तर एउटा कुरो भने ती देशहरुमा सबैमा साझा छ – त्यहाँ पीडाले ल्याएको एकता छ। र त्यो राष्ट्र प्रति समर्पण छ। ती सबैमा ‘राष्ट्रीय एकता’ को भावना छ।
अहिले नेपालमा सबै भन्दा ठुलो खाँचो त्यही एकताको हो। तर, त्यो एकता कसरी आउँछ? त्यो माया, त्यो अपनत्व, त्यो सम्बन्ध, त्यो विश्वास र त्यो समर्पण कसरी आउँछ? त्यो सम्वादबाट आउँछ। हो, अहिले हामी हामी बीच सम्वाद रोकिएको छ। नेपालीले नेपाली सँग सम्वाद गर्न छोडेको छ।
हामी देख्छौं अर्कैले देखाइदिएको द्रिश्य । हामी सुन्छौं, दलालहरुले अनुवाद गरेका कुरा।
‘राष्ट्र’भित्र रहेका समुदाय-समुदाय बीच सम्वाद छैन, बीचमा बस्ने स्वार्थ समुहले ‘सम्वादका माध्यम’ नै हाइज्याक गरेका छन्। नेपाल ‘राष्ट्र’ भित्रै रहेका अलग-अलग पुस्ता बीच सम्वाद छैन। विश्वास छैन। बाहिर हुनेले भित्र हुनेलाई, भित्रकाले बाहिरकालाई गाली मात्र गर्छौं, संवाद नै गर्दैनौं। देशमा हुनेले बिदेशिएकालाई, बिदेशिएकाले देशमा हुनेलाई नालायक मात्र देख्छौं। नेताले पत्रकारलाई, पत्रकारले नेतालाई, दुइटैले व्यापारीलाई, सबैले सबैलाई गाली मात्र गर्छौं।
‘गाली’ नै हो सम्वाद भन्ने पटमुर्खहरु घगडान विद्वानका पगरी गुँथेर हिंड्न थालेका छन्, हाम्रा शीतल चौतारीहरुमा मर्यादित विचार-विमर्शको संस्कार हराएको छ।
अब के गर्ने? कसरी सुधार्ने? कसले नेत्रित्व लिने? युग सुहाउँदो राष्ट्रको अवधारणा कसरी बिकसित गर्ने, वा त्यो बिकसित हुन सक्ने बातावरण कसरी तयार गर्ने? कसले गर्ने? के गर्ने? कस्ता पुर्वाधार बनाउने? कस्तो सन्स्कार बनाउने?
यी नै अहिले नेपाली नागरिक नेत्रित्वका यक्ष प्रश्न हुन्।
***
‘हाम्रो राजनीति किन यस्तो भयो?’ होइन, त्यो प्रश्न होइन। ‘हामी’, नेपाली जनता किन यस्ता भयौं? किन यो राजनितीलाई स्वीकार्न हामी वाध्य छौं? किन हामी उठ्दैनौं? किन यहाँ जनताको ‘कू’, युवाको ‘कू’ हुन सकेन अहिलेसम्म ? यी हुन् प्रश्न।
कस्ले लिने हो सामाजिक रुपान्तरणको नेत्रित्व? कसले फेर्ने हो देशको मुहार? हामी सबैले हो। संसार देख्नु भएको छ, कहाँ के राम्रो छ हेर्नु भएको छ। यहाँ यस्तो बनाउन सके हुन्थ्यो भन्ने लागेको छ। आफ्नै गाउँ ठाउँलाई यस्तो बनाउन सके हुन्थ्यो भन्ने सोच आउँछ, हो तपाईं हामीले नै हो अब आफ्नो आफ्नो प्रभाव क्षेत्रबाट नेत्रित्व लिएर यो समाज र यो देश फेर्ने।
के तपाईंलाई यहाँ केही केही खराब छ भने लागेको छ? लागेको छ भने तपाईं नै हो अब यो समाजलाई चाहिएको नेता। तर नेता भन्दैमा हामी सबै चुनाव उठ्नै पर्ने होइन। विचारको नेत्रित्व लिने, सेवाको नेत्रित्व लिने, राम्रो काममा सहयोग, समय, बुद्धी आदी दिने हो।
अहिले हामी सँग साधनहरु सजिलै सँग प्राप्त छन्। ज्ञान प्राप्त छ, हामी भन्दा अगाडिको पुस्ता सँग त्यो थिएन। त्यसकारण पनि हामीले हामी पछिका पुस्ताका लागि हाम्रो अहिलेको भन्दा निक्कै राम्रो समाज, देश र बलियो ‘राष्ट्र’ दिन सक्नुपर्छ।
अहिलेको लागि हामी आफ्ना गाउँठाउँमा ‘सम्वाद केन्द्र’ स्थापित गरेर शुरुवात गर्न सक्छौं। यस्ता ‘सामुदायिक केन्द्र’हरुले हाम्रो समाजमा तरंग ल्याउनेछन्। सामुदायिक पहलको उदाहरणबाट सम्भावनाहरुका ढोका खोल्नेछन्।
हाम्रो यहाँको बुद्धत्वलाई विश्वभरीको तकनिक र ज्ञानसँग मिलाएर हामीले विश्वकै उत्कृष्ट उदाहरणीय पहलहरुलाई साकार गर्न सक्छौं भन्ने अहिले हामीले देखाउन सक्यौं भने हामी पछिको पुस्ताको आत्म विश्वास बढ्नेछ। अनि नेपाल सम्रिद्ध हुनेछ – हाम्रै पालामा।