१२ साउन, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो ।
सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए ।
तर पीडित महिलाले नै जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको वयान दिएकी थिइन् । महिलाको बयान पछि जिल्ला अदालतले बलात्कारको दावीमा प्रमाण नपुग्ने भनी सफाइ दिएको थियो ।
महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो । संसदमा एमसिसि टेबुल नगरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कार्तिक २ को कान्तिपुर दैनिक मार्फत कडा रोष समेत प्रकट गरेको बिषय पनि महरा संग जोडिदै आएको थियो ।
वि.सं.२०७८ साउन १२ मंगलवार १५:४६ मा प्रकाशित




























