साउन १४, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीसँग सम्बन्धित महत्वपूर्णं भेटघाट तथा छलफल पार्टी कार्यालयबाटै गर्ने भएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पार्टीका गतिविधिलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गर्न लागिएको हो ।
उनका अनुसार पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाटका लागि भौतिक तथा व्यवस्थापकीय कुराहरु मिलाइएको छ । साथै कोभिडको जोखिमलाई ध्यानमा राखेर कतिपय कुराहरु भर्चुअल माध्यमबाट गर्ने कुराहरुलाई पनि व्यवस्थित बनाइएको उनले जनाए ।
ओलीले बिहीबारदेखि नै पार्टी कार्यालयबाट भेटघाटका कार्यक्रम सुरु गरेको तामाङले जानकारी दिएका छन् ।
यसअघि प्रधानमन्त्री रहँदा ओलीले पार्टी कार्यालयका सबै काम प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्दै आएका थिए । पार्टीका नियमित बैठक तथा कार्यक्रम पनि प्रधानमन्त्री निवासबाट गरिएपछि उनको विरोध पनि भएको थियो ।
वि.सं.२०७८ साउन १४ बिहीवार १७:५७ मा प्रकाशित






























