back
CTIZAN AD

आज साउन १५, खिर खाएर मनाइँदै

वि.सं.२०७८ साउन १५ शुक्रवार

780 

shares

१५ साउन, काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ ।

वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमले बताउनुभयो । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

कोरोना महामारी चलेका बेला दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको गत वर्ष फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार ०८:५७ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...