१७ साउन, काठमाडौँ । गृह मन्त्रालयले दार्चुला घटना छानबिनका लागि समिति गठन गरेको छ ।
गत शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटना बारे छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको हो ।
गृह मन्त्रालयका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
उक्त समितिलाई घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ ।
गत शुक्रबार मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तर भारतीय पक्षले उक्त घटनामा आफ्ना सुरक्षाकर्मीको संलग्नता रहेको कुरा अस्वीकार गरेको छ । शनिबार पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता रहेको भन्ने कुरा अस्वीकार गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएका थिए ।
भारतीय पक्षद्वारा आफ्नो सुरक्षार्कीको संलग्नता रहेको कुरा अस्वीकार
वि.सं.२०७८ साउन १७ आइतवार २०:४४ मा प्रकाशित






























