१८ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै युनियनले धितोपत्र कारोबारमा बोर्डका अध्यक्ष ढुङ्गानाले व्यक्तिगत रूपमा अनैतिक कारोबार गरे पनि सिङ्गो बोर्डलाई नै बदनाम गराइएको भन्दै कारबाहीको माग गरेका हुन् ।
उनीहरुले ढुंगानाले व्यक्तिगत रुपमा गलत काम गरेको भन्दै व्यक्तिगत रुपमै कारबाही गर्न माग गरेका छन् । युनियनले ढुंगानाको गलत कदमलाई लिएर बोर्डलाई विवादमा नतान्न पनि सबैलाई आग्रह गरेका छन् ।
धितोपत्र बजार संरक्षण गर्दै पुँजीबजार नियाम निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउने कार्यमा संलग्नलाई तत्काल निलम्बन गर्न माग गर्दै ऐनको दफा ७, १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा कारवाही गर्न यूनियनको माग रहेको छ ।
‘बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचार संहिताअनुसार गम्भीर नैतिक पतन भएको देखिएको हुँदा करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै कुल गार्हस्थ्य उत्पादन बराबरको बजार पुँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नलाई तत्काल निलम्बन गरी ऐनको दफा ७ (७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा छानविन कार्य अघि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गर्दछौं’, युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कर्मचारी युनियनले नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष रहेकै बेला अध्यक्षले ऐन विपरीत कुनै कम्पनीको सेयर आफ्ना परिवारलाई खरिद गराउनु धितोपत्र बोर्डको लक्ष्य, प्रतिष्ठासँगै अध्यक्ष तथा सञ्चालकका रूपमा समेत गम्भीर विचलन रहेको ठहर गरेको छ ।
धितोपत्र एनको प्रारम्भिक खण्डको दफा (२) परिभाषामा धितोपत्र र निष्कासन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने हुँदा, सञ्चार माध्यममा प्रकाशित विषयले बोर्डको अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान र आचार संहिता अनुसार गम्भिर नैतिक पतन भएको देखिएको युनियनको भनाई छ ।
छोरीको नामबाट शेयर चलखेल
गत साउन १२ गते बोर्डका अध्यक्ष ढुङ्गानाले हालै मात्र ‘बुक बिल्डिङ’मार्फत प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९ सय ९२ कित्ता सेयर छोरीको नाममा खरिद गरेका थिए । उनले आफ्नी छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको उक्त शेयर खरिद गरेका थिए ।
बुक बिल्डिङमार्फत धितोपत्र जारी गर्ने तयारीमा रहेको कम्पनीको सेयर खरिद गरेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।
सञ्चारमाध्यममार्फत उक्त कुरा सार्वजनिक भएसँगै साउन १३ मा अर्थमन्त्रालयले बोर्डको नाममा स्पष्टीकरणका लागि पत्र पठाएको थियो ।
वि.सं.२०७८ साउन १८ सोमवार ०७:१६ मा प्रकाशित






























