साउन १९, काठमाडौं । सरकारले कुलमान घिसिङलाई फेरि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी गरेको छ । जसका लागि सरकारले हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग राजीनामासमेत मागेको छ ।
मंगलबार उर्जामन्त्री पम्फा भुसालले शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी हुन् । बालुवाटार स्रोतले जनाएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्श पछि उर्जामन्त्री भुसालले शाक्यसँग राजीनामा माग गरेकी हुन् ।
शाक्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको निर्देशकमा ०७७ माघ २७ मा नियुक्त गरेको थियो । कुलमानको बिदाईसँगै कायममुकायमको जिम्मेवारी दिँदै ओली सरकारले शाक्यलाई निर्देशकमा नियुक्ति गरेको थियो ।
ओलीले सिधा हस्तक्षेप गरि शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याएका थिए । उनको नियुक्तीको विषय सुरुदेखि नै विवादमा छ ।
चार वर्षे कार्यकाल सकेर घिसिङ ०७७ भदौ २९ मा प्राधिरणबाट बिदाई भएका थिए । उनको नेतृत्वमा प्राधिकरणले निकै ठूलो फड्को मारेको थियो । दिनमा १८ घण्टासम्म हुने लोडसेडिङ्गलाई अन्त्य गर्दै अर्बोँ घाटामा गएको प्राधिकरणलाई उनले नाफामा लगेका थिए ।
वि.सं.२०७८ साउन १९ मंगलवार १७:०९ मा प्रकाशित






























