साउन २०, काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान उन्मुख नदिएसँगै माधवकुमार नेपाल पक्ष पार्टी विभाजन नै गरेर जाने तयारीमा तयारीमा जुटेको छ । एमाले स्रोतले उल्लेख गरेअनुसार माधव पक्षले बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमार्फत पार्टी विभाजनको विषयमा ठोस निर्णय लिनेछ ।
माधव पक्षले यसअघि निर्वाचन आयोगमा दर्ता गरिएको पार्टीलाई नै सक्रिय बनाउने तयारीमा जुटेको स्रोतले उल्लेख गरेको छ । एमाले विवाद उत्कर्षमा पुगेको बेला माधव पक्षका युवाहरुको समूहले ‘नेकपा (एकीकृत)’ नाममा दल निर्वाचन आयोगमा दर्ता गराएका थिए । जसले आयोगबाट दल दर्ताको प्रमाण–पत्रसमेत पाईसकेको छ ।
बताइएअनुसार तत्कालको लागि माधव पक्ष सोही दललाई नै सक्रिय बनाउने तयारीमा जुटेको छ । माधव पक्षका एक नेताले बताएअनुसार पार्टी विभाजनको केहि समयपश्चात माओवादी केन्द्रसहितका पार्टीबीच एकता गरिनेछ ।
पार्टी कि गठबन्धन राेज्ने दुविधामा थियाे माधव पक्ष
माधव पक्ष पार्टी रोज्ने कि गठबन्धन रोज्ने भन्ने विषयमा लामो समयदेखि अलमलमा थियो । माधव पक्षका एउटा समूह एमालेमै सम्मानजनक एकताको पक्षमा थिए । तर, ओली पक्षले लाद्ने मात्रै शैली देखाएसँगै उनीहरु समस्यामा देखिएका थिए ।
माधव पक्षका बहुमत पंक्तिले भने सुरुदेखि नै पार्टी विभाजन गरेर जानुपर्ने बताईरहेका थिए । माधव पक्षका बहुमत नेताहरु एमालेभित्रै रहेर ओलीसँग प्रतिष्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेका थिए । साथै उनीहरुले संविधान र संसदलाई जोगाउन पनि एमालेभन्दा गठबन्धन रोज्नुपर्ने निष्कर्ष निकालेका थिए ।
वि.सं.२०७८ साउन २० बुधवार १२:१५ मा प्रकाशित






























