२२ साउन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आजको स्थायी कमिटी बैठकमा मन्त्री चयन बारे छलफल हुन सकेन । सत्तारुढ कार्यदलले तयार पारेको प्रतिवेदन र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न भन्दै पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेकोे स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल नै नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आजको बैठकमा पार्टीका तर्फबाट मन्त्री चयनबारे कुनै छलफल नभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले गठबन्धनमा कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागि नसकेकाले ढिलो भएकाे बताए । गठबन्धनमा छलफल भएर दुई तीन दिनभित्रै सरकारले पूर्णता पाउने उनको भनाई छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको ‘साझा न्युनतम कार्यक्रम’ बारे बैठकलाई जानकारी गराएका थिए । बैठकले सत्तारुढ गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न आग्रह प्रवक्ता श्रेष्ठले बताए । कार्यदलले आजै बालुवाटारमा आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको थियो ।
त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अबिलम्ब उच्चस्तरीय आयोग तत्काल गठन गर्न सरकारलाई आग्रह गरेको छ ।
माओवादी केन्द्रले बैठकले लुम्बनी प्रदेशसभाका आफ्नो पार्टीकी सांसद विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक बनाएको’ घटनाप्रति आपत्ति जनाउँदै भत्सर्ना समेत गरेको छ ।
वि.सं.२०७८ साउन २२ शुक्रवार २०:५६ मा प्रकाशित






























