
पौडेल हाल देशभरी अपाङ्गमैत्री विद्यालयको निर्माण अभियानमा लागेका छन् । जसका लागि सुनौलो अपाङ्गमैत्री विशेष विद्यालय स्कुल नैकाप, फेवा अपाङ्ग विशेष विद्यालय चिप्लेढुंगा पोखरा, अपाङ पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय छपिया, अपाङ्ग पुर्नस्थापना केन्द्र विराटनगरको स्थापना गरिसकेका छन् । जसमा प्रत्येक विद्यालयमा १५ देखि २५ जनासम्म अपाङ्गले शिक्षा लिएका छन् ।
तीन चार वर्षको उमेरमा उनलाई कडा ज्वरो आयो । शरीरभरी पहेँलो विविरा आयो । आमाले धामी झाक्री गरिन् । अन्त्यमा केही उपाय नलागेर डाक्टरकहाँ लगिन् । त्यतिबेला डाक्टरले टाइफाइड भनिदियो । औषधि उपचार भयो । तर, उनी निको हुन सकेनन् । झण्डै २ वर्ष उठ्नै नसक्ने गरी थला परे । थलाबाट आमाले उठाउन निकै कोशिस गरिन् । “खानकै लागि भएपनि उठ त” भनेर उनकी आमाले हातमा खानको थाल लिएर लठ्ठि टेक्न दिएर उभिन भनिन् । पनि हर कोशिस गर्थे, तर असफलै बन्थे । आमाको हौसला अनि स्वयम्को प्रयास असफल भएपछि उनी जीवनभरका लागि शारीरिक अपाङ्ग भएर बाँच्नु प¥यो, उनलाई । हाल उनका दुवैगोडाले काम गर्दैनन् ।
शरीर अपाङ्ग भएपनि उनले दिमागलाई सक्रिय बनाएर आफूजस्तै अपाङ्गको अधिकारका लागि लागिपरेका छन्, काठमाडौँमा रहेर । पौडेल राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष समेत छन् ।
सालझण्डी गाविस रुपन्देही घर भएका निलकण्ठ पौडेलले नौ वर्षको उमेरमा स्कुलको प्राङ्गण टेके । जनकल्याण मावि रामापुरमा १ क्लासमा भर्ना भए, त्यसपछि सालझण्डी प्राबीमा ५ क्लास सम्मको शिक्षा लिए । पशुपति माध्यमिक विद्यालय हुँदै कान्ति माविबाट एसएलसी, सिद्धार्थ गौतमबुद्ध क्याम्पस रुपन्दहीबाट प्लस टु, न्यु होराइजन कलेजबाट ब्याचलर र काठमाडौंको शकरदेव क्याम्पसबाट मास्टर्स गरेका छन्, पौडेलले ।
पौडेलले स्कुलको सुरुवात खुट्टाले हिँडेर गर्न पाएनन्, कहिले आमाले बोकेर लगिन् भने कहिले आफै घस्रिएर पुगे । “मलाई त्यस्तो अवस्थामा देखेर केही साथीहरू हाँस्थे भने धेरै सहयोगी पनि थिए । हरेक कुरामा साथ दिन्थे । सरहरूले पढ्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो ।” पौडेलले आफ्नो बाल्यकालका कथा सुनाए ।
पौडेललाई अगाडि बढाउन शिक्षक देवनारायण चौधरीको महत्वपूर्ण भूमिका छ । शिक्षक चौधरीले परीक्षामा विषय नै लागेको भएपनि पास भएको घोषणा गरिदिएर उनलाई हौसला प्रदान गर्थे । पौडेल भन्छन् “मैले सपाङ्ग सरी प्रगति गर्न त सक्दैनथेँ । तर, मैले स्कुलमा पुगेर पढ्न चाहानु नै ठूलो हुन्थ्यो मेरा लागि अनि समाजका लागि ।”
उनी स्कुलका साहित्यिक गतिविधिमा पनि सक्रिय भएर लाग्थे । उनले २०४४ सालमै स्कुलको स्टेजमा पुगेर “बिरालो” नामको पहिलो कविता सुनाए । उनलाई त्यो कविता लेख्न प्रेरित गरेको थियो, आफूले पालेको बिरालोले । परिवारले उनलाई छोडेर गएपनि दिनभरी बिरालो साथमा हुन्थ्यो । “खोइ किन हो कुन्नी मलाई गाईले चाट्थ्यो, बिरालाले साथ दिन्थ्यो, सापले मेरो शरीरलाई छोएर जाँदा पनि टोक्दैनथ्यो” पौडेलले अन्तरंग सुनाए ।
उनी ९ वर्षको उमेरमा एछक्लै बुटवल पुगे । उनले कापी कलम किन्न बुटवलको बसपार्कमा बसेर मागेर पैसा जुटाए । त्यो पैसाले आफूलाई मनपर्ने कापी किताब किने उनले । त्यहि क्रममा समाजसेवी गणेशमान सैंजु लगायतको सहयोगमा बुटवलको अनाथ आश्रममा बसेर पढे ।
पौडेलले बुटवलबाट निस्कने देउराली पत्रिकामा पनि काम गरे । अनि २०५९ सालमा स्थानीय साथीभाइको सहयोगमा बुटवलको तिनहुँ एफएममा अपाङ्ग सम्बन्धी कार्यक्रम पनि चलाए । एफएममा काम गर्दागर्दा उनी धेरै अपाङ्गहरूका साथी बने । अनि रुपन्देही अपाङ्ग संघ खोलेर आफै त्यसको अध्यक्ष पनि भए ।
देशभरी माओवादी द्वन्द्व चर्किरहेको थियो । उनी जस्ता धेरै साथीहरू सडकमा मागेर खान बाध्य थिए । जनमानसमा परिवर्तनको संवाहक मानिएको माओवादी विभिन्न कार्यक्रमहरू लिएर देशभरी पुगिरहेको थियो । त्यहि क्रममा माओवादीे नेतृ पम्फा भुसाल र देवेन्द्रं पौडलसँग उनको भेट भयो । अनि त परिवर्तनका खातिर उनी पनि माओवादी आन्दोलनमा होमिए । ज्यान दिएर माओवादी पार्टीमा लागेका पौडेल २०६९ पछि भने पार्टीबाट टाढिए ।
किन बाहिरीनु भयो पार्टीबाट ? भन्ने ऐक्यबद्धताको प्रश्नमा उनी भन्छन् “सबै राम्रो थियो तर, माओवादी पार्टी विचारमा अडिग रहन सकेन्, अनि त बाहिरीए र आम नेपाली पार्टी खोलेर त्यसको अध्यक्ष बनेँ” उनले सरसर्ती सुनाए । हाल यहि पार्टीको नेतृत्व गर्दै उनी रिले अनसनमा बसिरहेका छन् । नागरिकता छानविन गर्न शक्तिशाली आयोग गठन गरियोस्, आम निर्वाचनमा जाने सुनिश्चिता, राष्ट्रिय अपाङ्ग आयोगको गठन, संघीयतालाई थाँति राखेर भए पनि संविधानको कार्यान्वयनमा जानु पर्ने लगायतका माग राख्दै पुष १ गते देखि सुरु गरिएको अनसन २५ दिन हुँदा पनि सरकारले पत्र बुझ्ने कोशिस समेत नगरेको उनको गुनासो छ ।
देशमा हाल द्वन्द्वपीडित, भूकम्पपीडित लगायत गरेर ३० लाख अपाङ्ग छन् । देशमा अपाङमैत्री संरचना अनिवार्य बन्नुपर्ने, अपाङ्ग आयोग बन्नुपर्ने र संविधानमा अपाङ्गका हक अधिकारका लागि राजनीतिक अधिकार सुनिश्चित हुनुपर्ने पौडेलको माग छ । “२०६४ को संविधानसभामा एक जना बहिरा र एकजना अपाङ्ग गरेर दुई सिट दिइएको थियो । तर, अहिले त्यहि पनि छैन । हामीले संघर्ष जारी राखेका छौँ, हाम्रो प्रतिनिधित्वको लागि” पौडेल भन्छन् ।
उनी राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रमार्फत देशभरीका अपाङ्गलाई स्वरोजगार बनाउने अभियानमा लागेका छन् । उनले अपाङ्गहरूलाई व्यवसायिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ भनेर मैनबत्ति बनाउने, ह्याण्डी क्राफ्टका सामानहरू बनाउने तालिम दिँदै आएका छन् । उनकै पहलमा हालैमात्र कैलालीको पहलमानपुरमा ह्वील चियर र बैशाखी बनाउने फ्याक्ट्री खोलिएको छ ।
पौडेल हाल देशभरी अपाङ्गमैत्री विद्यालयको निर्माण अभियानमा लागेका छन् । जसका लागि सुनौलो अपाङ्गमैत्री विशेष विद्यालय स्कुल नैकाप, फेवा अपाङ्ग विशेष विद्यालय चिप्लेढुंगा पोखरा, अपाङ पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय छपिया, अपाङ्ग पुर्नस्थापना केन्द्र विराटनगरको स्थापना गरिसकेका छन् । जसमा प्रत्येक विद्यालयमा १५ देखि २५ जनासम्म अपाङ्गले शिक्षा लिएका छन् ।
उनले यसका लागि एनजीओ, आइएनजीओ र स्थानीयस्तरबाट आर्थिक तथा भौतिक सहयोग जुटाएका छन् । “दिमाग नै अपाङ्ग भइदिए त कसको के लाग्छ ! तर, शारीरिक अपाङ्गतालाई दिमागी क्षमताले परास्त गर्न सक्नु पर्दछ अनि मात्र संसार जित्ने सपना देख्न सकिन्छ । जुन सपना मैले देखेको छु । जुन सपना देशभरीका अपाङ्गलाई शिक्षाको उज्यालो दिनु र आत्मनिर्भर बनाउन स्वरोजगार बनाउनु हो” पौडेल दृढता व्यक्त गर्दछन् ।
प्रस्तुति : चन्दा थापा