३२ साउन, बेलायत । समान अधिकार र समान पेन्सनलगायतका माग राख्दै एकसातादेखि आमरण अनसन बसेका भुतपूर्व व्रिटिस गोर्खा सैनिकहरुको मागमा ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीले ऐक्यबद्धता जनाएको छ ।
सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीको नेतृत्वमा गएको टोलीले झण्डै १७ दिनको रिले अनशन पश्चात गोर्खा सत्याग्रह संघर्ष समितिका तर्फबाट आमरण अनसनमा बसेका ज्ञानराज राई, पुष्पा राना घले र धनबहादुर गुरुङलाई भेटेर ऐक्यबद्धता जनाएका छन् ।
आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै देवानले माग पूरा गर्नका लागि आफूहरुले वार्ताका लागि राजनीतिक रुपमा दवाव दिँदै आएको बताए ।
टोलीमा संस्थाका तर्फबाट महासचिव क्षेत्र राई, प्रेम बुढा, राष्ट्र राई, पदम राई, ओम थापा, टोप पल्ली, ज्ञानकाजी गुरुङ, मेजर दिलकुमार राई, हरि गुरुङ, ओमेन्द्र गुरुङ, नगेन्द्रराज नेम्वाङलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

भूपु ब्रिटिस गोर्खाहरुले नेपाल–तथा बेलायत सरकारसँग बेलायती सैनिक सरह समान अधिकारका माग राख्दै आएपनि उनीहरुको मागमा दुवै देशका सरकारले चासो नदेखाएपछि पटक पटक आन्दोलन गर्दै आइरहेका छन् । पटक–पटक विभिन्न मागसहित वार्ताका लागि अनुरोध गरेपनि त्यस्तो माहोल नबनेपछि १७ दिन रिले अनशन बसेका उनीहरु ९ दिनदेखि आमरण अनशनमा बसेका छन् ।
बेलायतमा रहेका विभिन्न नेपाली तथा बेलायती संघ संस्थाले उनीहरुको माग पूरागर्न दवाव दिँदै विभिन्न सांस्कृतिक झाँकीसहित अनसनस्थलमा पुगेर आमरण अनशनप्रति ऐक्यबद्धता जनाएका छन् ।
आमरण अनशन फिर्ता लिन सरकारको अनुरोध
नेपाल सरकारले अनशनरत भूतपूर्व व्रिटिश गोर्खा सैनिकहरुलाई आमरण अनसन फिर्ता लिन आग्रह गरेको छ । सोमबार बसेको मन्त्रि परिषद्को बैठकले सरकारले कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता गर्दै आमरण अनशन फिर्ता लिन अनुरोध गरेको हो ।
कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कुमार कार्कीले मन्त्रिपरिषदको बैठकले आमरण अनशन लगायतका विरोध कार्यक्रमहरु फिर्ता लिन भूतपूर्व ब्रिटिश गोर्खा सम्बद्ध सबैलाई अनुरोध गरिएको जानकारी दिएका छन् ।
वि.सं.२०७८ साउन ३२ सोमवार १५:५२ मा प्रकाशित






























