१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले महाधिवेशन पछि पार्टी दुई हुन्छ कि भन्ने आशंका नगर्न आग्रह गरेका छन् ।
अध्यक्ष कमल थापाको अध्यक्षता, अर्का अध्यक्ष पशुपति शमशेर जबराको उपस्थितिमा सोमबार सम्पन्न राप्रपाको कार्य सम्पादन समितिको वैठकलाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले उक्त आग्रह गरेका हुन् ।
बैठकमा बोल्दै उनले भने ‘राप्रपा अब फुट्दैन भन्दै उनले भने, ‘महाधिवेशन पछि राप्रपा दुई हुन्छ कि भन्ने आशंका होला, निश्चिन्त रहे हुन्छ, अब पार्टी विभाजन हुँदैन । हामीलाई त्यो सुविधा प्राप्त छैन।’
‘राजसंस्था र हिन्दु राष्ट्रको बलमा राप्रपाले देशव्यापी लहर ल्याउने दावी गरे । ‘राप्रपा संसद अन्तर्गतको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्रमा विश्वास गर्ने दल हो । यी मान्यताका पक्षमा एक समय निकै राम्रो वातावरण बनीसकेको थियो । संसद विघटनको घटनाले देश र जनताको ध्यान अन्यत्र मोड्यो । तर त्यो राजनीतिक संभावना, आवश्यकता अझ पनि कायम छ,’ अध्यक्ष लोहनीले भने ‘राष्ट्रिय आवश्यकताका आधारमा, राप्रपाले जनलहर ल्याउने, जनताको समर्थन प्राप्त हुने प्रशस्त आधार कायम रहेको उनको दावी थियो । ‘सडकमा आउँदा राप्रपाले जनसमर्थन प्राप्त गरेकै हो । स्वतःस्फूर्त प्राप्त समर्थनलाई कम गर्न आंकलन गर्न मिल्दैन । वातावरण मिलाए, अहिले पनि जनताले साथ दिनेछन्, त्यो संभावना अझ पनि कायमै छ ।’
पार्टी आवश्यकता अनुसार चुनावी गठबन्धनमा जानु पर्नेमा जोड दिँदै उनले तर आफ्नो स्वाभीमानमा अडेर अघि बढ्ने बताए । ‘राप्रपा कुनै पनि दलको पुच्छर भएर होइन, आफ्नो स्वाभीमानमा अडेर अघि बढ्ने उनले बताए । ‘आवश्यकता अनुरुप चुनावी गठबन्धन गर्नु नै पर्दछ । तर गठबन्धन गरेकै आधारमा कुनै दलको पिछलग्गू भएको भनेर सोच्नु हुँदैन ।’
राप्रपा कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले राप्रपाको कार्तिक २७-३० हुने काठमाडौँमा हुने एकता महाधिवेशन समयमै सम्पन्न गर्ने, असोज १५ भित्र प्रदेश अधिवेशन र असोज २० भित्र सक्रिय सदस्इहरुबाट महाधविेशन प्रतिनिधि निर्वाचन गर्ने कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले भ्रष्टाचार काण्डहरूको छानविन गर्न र कारवाही गर्न, कोभिड विरूद्धको खोप अभियान युद्धस्तरमा संचालन गर्न तथा स्थानीय तह निर्वाचन कार्ययोजना कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
साथै उक्त बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तबरले स्वदेश फर्काउन र ब्रिटिश गोर्खाका पूर्व सैनिकहरुको माग गर्न शसक्त कुटनीतिक प्रयासको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ ।
राप्रपाले हिन्दुराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र र सुशासनको धरातलमा सबल र समृद्ध नेपाल निर्माणको लागि “अब अघि बढछ राप्रपा” भन्ने नारा सहित राप्रपाको एकता महाधिवेशन २०७८ कार्तिक २७–३० गते काठमाडौंमा गर्दैछ । महाधिवेशन मिति यसअघि दुई पटक सरिसकेको छ ।
वि.सं.२०७८ भदौ १ मंगलवार ०९:३० मा प्रकाशित































