भदौ १, काठमाडौं । नेकपा (एमाले)भित्र विभाजनको अन्तिम कसरत भईरहेका बेला गुटहरुमा आन्तरिक धुव्रीकरण तिव्र देखिन थालेको छ । पछिल्लो कसरतका बीच माधवकुमार नेपाल पक्षमा देखिएका केहि प्रभावशाली नेता नै पार्टीको संस्थापन धार (केपी शर्मा ओली पक्ष)मा देखिन थालेका छन् ।
विशेषतः एमालेको विवाद समाधान गर्न गठित कार्यदलका अधिकांश सदस्य ओली पक्षमा देखिएका छन् । अध्यादेश ल्याउने तयारी स्वरुप संसद अधिवेशन अन्त्य गरिएपछि उनीहरु ‘एकताको विकल्प छैन’ भन्दै ओली पक्षमा खुल्न थालेका हुन् ।
सोमबार मध्यराती ओलीले सार्वजनिक गरेको एकताको अपिल पनि उनीहरुको सुझाबपश्चात सार्वजनिक गरिएको बुझिएको छ । संसद अधिवेशन अन्त्य गरिएलगत्तै माधव पक्षका वार्ता टोलीका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्यलगायत आन्तरिक छलफलमा जुटेका थिए ।
आफ्नो पक्षको छलफलपश्चात नेताहरुले ओलीलाई अपिल जारी गर्न आग्रह गरेका थिए ।
को–को देखिए ओलीतिर ?
माधव पक्षमा देखिँदै आएका केहि प्रभावशाली नेता ओली पक्षमा देखिएका छन् । विशेषतः एमाले विवाद समाधान गर्न गठित कार्यदलका अधिकांश सदस्य पार्टी एकता हुनुपर्छ भन्दै ओली तिर देखिएका हुन् ।
नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई पार्टी विभाजन भए एमालेमै फर्किने निर्णयमा पुगेका छन् । तर, ओलीको सत्ता बहिर्गमनसँगै भने केहि ओली पक्षमा नेताहरु पनि माधव पक्षमा देखिएका छन् ।
वि.सं.२०७८ भदौ १ मंगलवार १२:२५ मा प्रकाशित






























