१ भदौ, काठमाडौँ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई सत्याग्रह फिर्ता लिन आग्रह गरेको छ ।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिकसँग सम्बद्ध विविध माग राखी विरोधका कार्यक्रम गरिरहेको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईलाई सम्बोधन गर्दै हाल जारी विरोधका कार्यक्रम फिर्ता लिइदिन अनुरोध गरेको हो ।
मन्त्रालयले ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले संचालन गरिरहेको विरोध कार्यक्रमका सन्दर्भमा साउन ३२ गते बसेको मन्त्रीपरिषद्ले गरेको निर्णय जानकारी गराउँदै सत्याग्रह फिर्ता लिन भनेको हो ।
३२ साउनको मन्त्रीपरिषद्को बैठकले ‘भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै समितिले गरेको आमरण अनसनप्रति सरकारको ध्यानाकर्षण भएको छ । यस समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धि कुटनीति प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनसन लगायतका विरोधका कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खासँग सम्बद्ध सबैलाई आह्वान गर्ने ।’ भन्ने निर्णय गरेको पत्रमा जनाइएको छ ।
‘वार्ताबाटै समस्याको हल निकाल्न सकिन्छ भन्ने नेपाल सरकार र पूर्व गोर्खा सैनिकका प्रतिनिधि संस्था बिच समान धारणा रहि आएको’ समेत पत्रमा उल्लेख छ ।
वि.सं.२०७८ भदौ १ मंगलवार १२:०३ मा प्रकाशित































