६ भदौ, रुपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको छ ।
प्रदेश सांसदद्वय अजय शाही र विमलाकुमारी वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लङ्घन गरेको भन्दै एमालेले कारबाही गर्न भनि सभामुख पूर्णबहादुर घर्तीमगरलाई पत्राचार गरेकोमा सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।
सांसदद्वय शाही र वलीलाई कारबाही गर्न नमिल्ने व्यहोराको पत्र एमालेलाई पठाइएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए । पुनका अनुसार पत्र एमालेले प्राप्त गरिसकेको छ तर एमालेबाट कुनै पनि खालको जवाफ वा प्रतिक्रिया आएको छैन ।
प्रदेश सभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेश सभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रूपमा समावेश गरेको भए पनि उनीहरूले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफू एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।
प्रदेशसभा नियमावलीसँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र नेकपाको तर्फबाट निर्वाचित विमला वलीले फागुन २३ गते सर्वोच्चको फैसलापछि आफू कुनै दलको संसदीय दलमा सहभागी नभएको दाबी गरेकी थिइन् ।
कारवाहीका लागि पठाएका शाही र वलीलाई सचिवालयले पदमुक्त नगरेको भन्दै पनि एमालेले दुई दिनसम्म प्रदेश सभा बैठकमा अवरोध गरेको थियो ।
वि.सं.२०७८ भदौ ६ आइतवार १५:०८ मा प्रकाशित





























