६ भदौ, दिल्ली । भारतमा २२ वर्ष लामो जेल जीवन विताएर छुटेका लालबहादुर राना यतिबेला परिवार सम्पर्कमा नभएपछि अलपत्र परेका छन् ।
हिमाञ्चल प्रदेशको मोडल सेन्ट्रल जेलमा २१ वर्ष जेल जीवन बिताएका राना लामो कानुनी लडाईपछि बिहीवार जेलबाट छुटेका हुन् । हत्या गरेको अभियोगमा लामो समय जेल बसेका राना १० वर्षदेखि परिवारसँगको सम्पर्कमा छैनन् ।
सगरमाथाको कटुन्जे गैरीगाउ घर बताउने रानाले कुन जिल्ला हो भनेर बताउन भने सकेका छैनन् । जेलबाट छुटेपनि परिवारका कोही पनि सदस्यको सम्पर्क नरहेका उनी अहिले अलपत्र अवस्थामा रहेको नेपाली एकता मञ्च भारतका केन्द्रीय सचिव आरबी खड्काले संसारन्युजलाई बताएका छन् ।
‘सगरमाथाको कटुन्जे गैरीगाउ घर बताउनु भएका उहाँले जिल्ला बताउन सक्नु भएको छैन, हामीले पत्ता लगाउने कोशिष गरिरहेका छौं । नेपाल प्रहरीलाई पनि यसबारेमा बताएर खोजि गरिदिन अनुरोध गरेका छौं ।’ सचिव खड्काले भने ।
परिवारका सदस्य सम्पर्कमा नहुँदा कारागारकै एक कोठामा उनलाई राखिएको खड्काले बताए । परिवारका सदस्य सम्पर्कमा नआउँदासम्म त्यस्ता व्यक्तिलाई राख्ने जेलमा छुट्टै कोठा छ ।
झण्डै ७१ वर्षीय रानाले आफ्नो एक छोरा र छोरी रहेको बताउने गरेका छन् । उनको मुद्दामा न्यायिक लडाइँका लागि सोलुखुम्बुकी सामाजिक कार्यकर्ता पूजा फुयाल लगायतको टीमले सहजिकरण गरेको पनि खड्का बताउँछन् ।
वि.सं.२०७८ भदौ ६ आइतवार १५:११ मा प्रकाशित






























