Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

७० वर्षीय भण्डारी भन्छन् ‘बरु मार यसरी दुःख नदेउ भनेर चिच्यायौं’



jhank bhandari

१० वर्षे माओवादी जनयुद्धले देशमा निरंकुश राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना मात्र गरेन एउटा सामान्य जनताको छोराछोरीलाई राष्ट्र प्रमुख समेत बनायो । यो कम चुनौतिपूर्ण काम थिएन । जनयुद्ध तत्कालीन नेकपा माओवादीले सुरु गरे पनि यसमा आम जनताको साथ र सहयोग थियो । माओवादीलाई भात खुवाएको निहुँमा धेरै सर्वसाधारणले अकालमा ज्यान गुमाए, बेपत्ता भए, कयौं अपाङ्ग बने । यसको हिसाव कितावको पाना आज रद्धीको टोकरीमा फ्याँकिएको छ । वृद्धा र बालक कसैलाई छोडेन तत्कालीन सरकारले । र माओवादीले पनि त्यत्ति नै दुःख दियो सेना र प्रहरीका परिवारलाई । त्यसैको शिकार हुन पुगे नुवाकोट कुमरीका निर्दाेष किसान झंकबहादुर भण्डारी । उनी किसान हुन् न त माओवादी । संसारन्युजसँग यसरी खोल्छन्् ७४ वर्षीय भण्डारी आफूलाई तत्कालीन साही नेपाली सेनाले दिएको यातनाका पोकाहरु:
बुढीलाई समातेर रुपिङसम्म पु¥यायो
२०५९ सालको दशैं मान्न काठमाण्डौंमा रहेका छोराछोरी गाउँ फर्कन सकेका थिएनन् । त्यसैले म टिका र जमरा बोकेर छोराछोरी भेट्न काठमाडौं गएको थिएँ । त्यत्तिबेला गाउँमा सेना आएछ । मेरो विषयमा बुढीसँग सोधेछ । बुढीले काठमाडौं गएको बताएपछि हामीलाई ढाँट्ने ल तपाई हामीसँग हिँड्नुहोस भन्दै लिएर गएछन् । त्यत्तिबेला बुढी ५५ वर्षकी थिई म ६० वर्षको । रुपिङ स्कुल सम्म पु¥याएर बुढीलाई केरकार गरेछन् । बुढी कान अलि कम सुन्थी । उ सँग बोल्न झ्याउ लागेपछि सेनाले तिम्रो बुढोलाई ब्यारेक पठाउ हामी तिमिलाई घर पठाउँछौं भनेछन् । त्यसपछि हुन्छ भन्ने शर्तमा बुढीलाई छोडेछन् ।
तीन दिनपछि म घर आए
अहिले जस्तो त्यत्तिबेला फोनको जमाना थिएन । बुढीलाई आर्मीले लगेको भन्ने कुरा गाउँमा आएपछि मात्रै थाहा पाएँ । म खेती किसानी गर्ने बुढोलाई किन खोजेको होला आर्मीले भन्ने लाग्यो । घर पुग्नेवित्तिकै आर्मीले सुनाएका उर्दी बुढीले मलाई सुनाई । म जाउँ कि नजाउँ रनभुल्लमा परें । जाउँ भने मार्ला भन्ने पीर नजाँदा पनि मार्ला भन्ने पीर । दोधारै दोधारमा थिएँ । छोराहरु र गाउँका मानिससँग सोध्दा तपाई गाउँमा खेती किसानी गर्ने मान्छे केही गर्दैन होला । सोधखोज गरेर पठाउँछ होला जानु भनेपछि जाने निणर्य गरेँ ।

धुव्र मुड्भरी र म सँगै ग¥यौं
घर भन्दा अलि माथिका धुव्र मुड्भरीको छोरालाई पनि सेनाले समातेर लगेको रहेछ । मेरो बुढीयालाई रुपिङबाट फर्कायो भने धुव्रको छोरालाई सदरमुकाम नै लगेछन् । त्यसपछि धुव्र पनि म सँगै जान तयार भए । त्यसपछि हामी दुई भाइ सदरमुकाम तिर लाग्यौं ।
सिधै मैथली क्याम्प
हामी सिधै मैथली क्याम्प पुग्यौं । त्यहाँबाट हामीलाई क्याम्प भित्रैको पालमा लगेर राखे । भोलिपल्ट हामीलाई केरकार ग¥यो । मैले जे हो त्यही त्यही भनिदिए । तर ढाँटेको भन्दै कोर्रा लगाउन थाल्यो । खान भने समयमा नै दिन्थ्यो तर पिटाई भने असह्य थियो । तेरो घरमा कति आउँथे माओवादी ? कति जनालाई भात खुवाइस ? किन खुवाइस ? आदि इत्यादि सोध्थ्यो । यति जनालाई भात पकाउनुहोस भनेर अडर गरेर गएपछि कसरी नपकाउनु नखुवाए मार्लान् भन्ने डर थियो हजुर मैले भन्थें ।

उधोमुन्टो लगाएर ड्रमको चिसो पानीमा चोपल्थ्यो
हाम्रा कुरामा उसलाई रत्तिभर पत्यार थिएन । त्यसपछि अरु कुरा निस्किन्छ कि भनेर हामीलाई भरिएको ड्रमको चिसो पानीमा उधोमुुन्टो लगाएर चोपल्यो । दुई जनाले खुट्टा समाए अनि टाउकोलाई पानिभित्र चोपल्दै अँझै पनि भन्दैनस् भन्दै हकार्थे । थाहा भएको कुरा यही हो हजुर अरु त के छ र बरु मार यस्तो दुःख नदेऊ भन्दै करायौं । किन सुन्थ्यो र उसले हाम्रो कुरा । दुई तीन पटक त्यस्तो गरेपछि हामीलाई तारेकमा छोड्ने निधो ग¥यो ।

७ महिना तारेक
एक पटकको कालबाट त उम्केर आयौं । तर ७ महिनासम्म कसरी तारेक धाउने भन्ने चिन्ता भयो । त्यसपछि जे पर्ला त्यही टर्ला भनेर उसले दिएको समयमा तारेक धाउन लाग्यौं । उसले सोध्ने कुरा त्यही थियो । तेरो घरमा को –को माओवादी आउँछन् ? तिनिहरु कहाँ कहाँ जान्छन् ?कति जनालाई भार खुवाइस् ? तेरा छोराछोरी पनि माओवादीमा लागेका छन् रे किन पठाइस यस्तै यस्तै कुरा सोधेर हैरान बनाउँथ्यो । तारेक सकिएपछि भने नयाँ जीवन पाएको अनुभूति भयो ।

सोचे जस्तो भएन देशमा
जनयुद्धले निर्दाेष जनतालाई दुःख भयो । विना गल्तीको सजाय भोग्नु प¥यो । अनाहकमा सोझा मानिस मारिए । देशमा गणतन्त्र आएपनि हामीले भोगेको समय उस्तै छ खै कसलाई के भन्ने । जनताको सुधिन ल्याउँछौ भन्थे । उनीहरु कता अलमलिए कता । अहिले अरु नै मालिक भएर बस्ने दिन आउँछ कि चिन्ता लाग्छ ।

प्रस्तुती: संगीता पनेरु 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।