६ भदौ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले ७ वटै प्रदेशको नेतृत्वको कार्यविभाजन गरेको छ। आइतबार सम्पन्न स्थायी समिति बैठकले माओवादी केन्द्रका ७ वटै प्रदेशको नेतृत्वको कार्यविभाजन गरेको हो ।
जसअनुसार प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन्। बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन्।
त्यस्तै, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट इन्चार्ज तोकिएका छन्। प्रदेश नं १मा भने सुरेन्द्र कार्की र सावित्री काफ्ले मध्य कसलाई इन्चार्ज बनाउने टुंगिएको छैन।
त्यस्तै आजको बैठकले विभिन्न समयमा विभाजित भएर पुनः एकीकृत भएका माओवादी घटकहरूको एकता प्रक्रिया टुंग्याउन ३ सदस्यीय कार्यदल गठन गरेको छ । साे कार्यदलमा वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य छन्।
उक्त कार्यदललाई अवरुद्ध रहेको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न भनिएको छ ।
२०७३ सालमा विभिन्न माओवादी घटकबीच एकता भएपछि तत्कालीन एकीकृत नेकपा माओवादी पार्टी ‘माओवादी केन्द्र’ भएको थियो। तर एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै २०७५ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो।
आजको बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने समेत निर्णय गरेको छ।
वि.सं.२०७८ भदौ ६ आइतवार २०:२८ मा प्रकाशित






























