११ भदौ, काठमाडौं । आज देशैभरीका विभिन्न भू–भागमा हल्का देखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण देशका बिभिन्न क्षेत्रमा डुवान पर्नुका साथै पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ ।
त्यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यी नदीको बहावले सतर्कता पार गर्ने
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी र यसका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने तथा केहीमा सतर्कता तह पार गर्न सक्नेछन् ।
त्यस्तै कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने र मझौला नदीहरु सबैमा बहाब उल्लेख्य बढ्ने छ । साथै कमला, बागमती, तिनाउ लगायतमा बहाब खतरा तह आसपास पुग्ने; कन्काई, पूर्वी राप्ती,पश्चिम राप्ती र बबईमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार ०९:१४ मा प्रकाशित






























