भदौ १३, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई एमालेमै रहेमा साथ नदिने भएको छ । पार्टी गठन पछि आइतबार बसेको सो पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले शाक्य र आचार्यले एमाले छाडेमा भने सघाउने निर्णय एकीकृत समाजवादीले गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता विरिोध खतिवडाले गठबन्धनको तर्फबाट मुख्यमन्त्री चयन हुने बताए ।
‘अहिले भएका मुख्यमन्त्री एकीकृत समाजवादीमा रहनु भयो भने गठबन्धनले त्यही अनुसार सोच्छ। एकीकृत समाजवादीमा नरहे गठबन्धनले नयाँ मुख्यमन्त्री बनाउँछ। के गर्ने उहाँहरु (अष्टलक्ष्मी शाक्य र भीम आचार्य) को निर्णयमा भरपर्छ।’
दुवै प्रदेशमा बहुमत पुर्याउन एमालेलाई गाह्रो
एमाले विभाजनसँगै दुवै प्रदेशका बनेका सरकार अल्पमतमा पुगेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री शाक्यको पक्षमा बहुमत अर्थात् ५६ मत पुर्याउन गाह्रो छ ।
यता हालै गठन भएको प्रदेश १ मा पनि ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेसँग ४० सांसद पनि जुटाउन गाह्रो देखिएको छ । एमालेका ५१ सांसदमध्ये १० सांसद घोषणा गरेरै माधव पक्षमा देखिएका छन् ।
सरकार ढल्ने सुनिश्चित भएसँगै दुवै प्रदेशमा एमाले थप कमजोर बन्ने निश्चित छ ।
वि.सं.२०७८ भदौ १३ आइतवार १७:०० मा प्रकाशित






























