काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा श्रेष्ठ पछिल्लो समय आफ्नो नयाँ सांगीतिक कोसेली ‘बलमा माइचा हाकुमा दाइचा’ मार्फत पुनः चर्चाको केन्द्रमा आएकी छन् । नेपाली कला, संस्कृति र मौलिक भावनालाई संगीतमार्फत प्रस्तुत गर्दै आएकी श्रेष्ठ प्रवासमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी सर्जक हुन् ।
पेशाले आइटी इन्जिनियर भए पनि उनको मन सधैं संगीत, साहित्य र सिर्जनाको संसारमै रमाइरहेको देखिन्छ । उनका सिर्जनामा प्रेम, आत्मीयता, बिछोड, जीवनका अनुभूति तथा नेपालीपनको गहिरो झल्को पाइन्छ । यही कारण उनका गीतहरूले स्रोताको मन छुने गरेका छन् ।
रिमा श्रेष्ठले नेपाली संगीत क्षेत्रका चर्चित कलाकारहरू अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, प्रसंशा शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान,राजेश पायल राई,रेवति राई तथा किरण गजमेरलगायतका कलाकारसँग सहकार्य गरिसकेकी छन् ।
उनले आफ्ना सिर्जनाहरू ‘रिमा श्रेष्ठ वल्र्ड’ युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छन् । प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति र मौलिक भेषभूषाप्रतिको उनको प्रेम उत्तिकै गहिरो देखिन्छ ।
विगत ६ वर्षदेखि कान्सास सिटी नेप्लिज सोसाइटीमा सल्लाहकारका रूपमा सक्रिय श्रेष्ठ नेपाली समुदायलाई एकताबद्ध गर्न विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्नसमेत अग्रसर रहँदै आएकी छन् ।
हाल चर्चामा रहेको ‘बलमा माइचा हाकुमा दाइचा’ गीतमा रिमा श्रेष्ठकै शब्द सिर्जना रहेको छ भने संगीत सञ्जीत श्रेष्ठले दिएका छन् । प्रश्ना शाक्य र राज सायमीको स्वर रहेको गीतलाई सञ्जाल भण्डारीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
गीतको भिडियोमा सुदित श्रेष्ठ र सृष्टि महर्जनको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन सोनाम पाख्रिनले गरेका हुन् भने उत्सव दाहालको छायांकन, बिजेश पौडेलको सम्पादन तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । पोस्ट–प्रोडक्सन कार्य लाटोकोसेरो फिल्म्सले सम्पन्न गरेको हो ।
प्रवासमा रहेर पनि नेपाली संगीत र संस्कृतिलाई जीवन्त बनाइरहेकी रिमा श्रेष्ठ आज धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन् । उनका सिर्जनाहरूले नेपालीपनको सुगन्ध बोकेर संसारभर रहेका नेपाली मनहरूलाई जोड्ने काम गरिरहेका छन् ।
वि.सं.२०८३ जेठ ८ शुक्रवार १४:१९ मा प्रकाशित



























