१६ भदौ, काठमाडौं । उपत्यकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख १६ गतेदेखि लगाइएको निशेधाज्ञा हटाइएको छ ।
उपत्यकाका तिनैजिल्लाका जिल्ला प्रमुख अधिकारीहरुको बुधवार बसेको बैठकले निशेषधाज्ञा अन्त्य गर्ने निर्णय गरेको हो ।
तिनै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनको प्रावधानभित्र रहि विभिन्न कार्य संचालन गर्न सकिने बताइएको छ ।
त्यस्तै शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न÷ गराउन नपाउने र गर्नैपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीयतहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर विद्यालय संचालन गर्न पाउने समेत निर्णय गरेको छ ।
‘यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा संकेतिक रुपमा मात्र मनाउन पाइने, सर्बसाधारण व्यक्ति, समूह, तथा संस्थालगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिबिधिहरु संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र गर्न पाउने ।’ निर्णयमा भनिएको छ ।
उक्त निर्णय भदौ १७ गतेदेखि भदौ अन्तिमसम्म लागु हुनेछ । संक्रमण बढ्दै गए पुनः निशेधाज्ञा लागु हुने बताइएको छ ।

वि.सं.२०७८ भदौ १६ बुधवार १४:५९ मा प्रकाशित






























