भदौ २२, काठमाडौं । आन्तरिक विवादका कारण विभाजनको अवस्थामा पुगेको नेकपा (मार्क्सवादी)मा पुनः मिलन भएको छ ।
दुई समूहमा विभाजन भएका मार्क्सवादीहरु यसअघि पार्टीको आधिकारिकता खोजी गर्दै विवादमा अल्झिएका थिए । निर्वाचन आयोगसम्म पुगेको विवाद पार्टीका शीर्ष नेताहरुको लामो छलफलपछि समाधान भएको हो ।
मार्क्सवादीका नेताहरु अम्बिकाप्रसाद थैव, रामहरि पोखरेल र योगेन्द्र पराजुलीले मंगल संयुक्त रुपमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै पार्टी पुनः एक भएको घोषणा गरेका हुन् । मार्क्सवादीका नेता थैवले आगामी फाल्गुणमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने गरि सहमति भएको बताए ।
उनका अनुसार पार्टीमा देखिएका विवादका विषयहरु सम्मेलनबाटै समाधान हुनेछन् ।
विभाजन उन्मुख बनेको मार्क्सवादीका नेताहरुलाई मिलाउन पुष्पलाल अध्ययन समाजका उपमहासचिव मुकुन्द आचार्यले भूमिका खेलेका थिए । सहमति घोषणा पछि आचार्यले कम्युनिष्टहरुबीच एकताको सुरुवात भएको प्रतिक्रिया दिए ।
वि.सं.२०७८ भदौ २२ मंगलवार १२:५३ मा प्रकाशित






























