back
CTIZAN AD

एमसीसीको जवाफप्रति सत्ता गठबन्धनमा गहिरो मतभिन्नता : कांग्रेस– पास गर्नुपर्छ, माओवादी– सिधा अस्वीकार गर्नुपर्छ

वि.सं.२०७८ भदौ २४ बिहीवार

696 

shares

भदौ २५, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे अमेरिकाले दिएको जवाफप्रति सत्तारुढ गठबन्धनका दलहरुबीच फरक–फरक मत देखिएको छ । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले जवाफलाई सकारात्मक भएको भन्दै एमसीसीलाई प्रक्रियामा लैजानुपर्ने बताउन थालेको छ भने गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)ले भने एमसीसीलाई सिधा अस्वीकार गर्नुपर्ने बताउन थालेको छ ।

एमसीसीप्रति देखिएको बहसमा धेरै विषयमा अमेरिकाले स्पष्ट पारेको कांग्रेसको भनाई छ । कांग्रेसकी नेतृ पुष्पा भुसालले सम्झौताप्रति देखिएका प्रश्नहरुको करिब जवाफ आईसकेको भन्दै प्रक्रियामा अगाडि बढ्नुपर्ने बताइन् । उनले अन्य प्रश्नहरुको जवाफ अन्तराष्ट्रिय कानूनअनुसार खोज्नुपर्ने पनि बताइन् । उनका अनुसार एमसीसीलाई राजनीतिकरण नगरि विकासको कार्यक्रमको रुपमा अगाडि लैजान आवश्यक छ ।

‘एमसीसी राजनीतिक नभई प्राविधिक कुरा हो, कानूनी प्रक्रियाबाट अगाडि आएको कुरा हो’, भुसालले भनेकी छिन्, ‘देखिएका प्रश्नलाई अन्तराष्ट्रिय कानूनसँग जोडेर हेर्नुपर्छ, यो नेपालको पूर्वाधार विकासको लागि आएको विषय भएको हुनाले यसलाई अवसरको रुपमा लिँदै कार्यान्वयमा लैजानु पर्दछ । यसलाई सदनको साझा विषय बनाउन आवश्यक छ । सत्तापक्ष प्रतिपक्ष मिलेर सम्झौतालाई पास गर्नुपर्छ ।’

यता माओवादी केन्द्रका नेता देव गुरुङले भने अमेरिकी पक्षको जवाफले आफुँहरु सम्झौता स्वीकार गर्न नहुने निष्कर्षमा पुगेको बताएका छन् । ‘हाम्रो मुख्य अडान यो सम्झौता संशोधन हुनुपर्छ भन्ने हो, तर अमेरिकाले संशोधन नहुने भन्यो’, गुरुङ्गले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, ‘अब यो सम्झौताको कुरै भएन ।’

उनले अमेरिकाले अनुदान दिन चाहन्छ भने सोझै अर्थ मन्त्रालयअन्तर्गत दिन सक्ने र उक्त अनुदान नेपालको अनुकुलतामा प्रयोग हुनसक्ने बताए ।

यता सत्ता गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी)ले भने अमेरिकी पक्षले दिएको जवाफको विषयमा एकल रुपमा नभई गठबन्धनबाटै सामूहिक धारणा दिने बताएको छ । नेता विरोध खतिवडाले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीको विषयमा बनाएको धारणा नै आफुँहरुको भएको तर पछिल्लो अवस्थामा भने गठबन्धनसँग छलफल गरि सामूहिक धारणा बनाउन आवश्यक रहेको बताए ।

‘तत्कालिन नेकपाले जे प्रश्न उठाएको थियो, सरकारले त्यहि प्रश्न सोधेको छ, अमेरिकी पक्षले दिएको जवाफप्रति हामीले सामूहिक रुपमै धारणा बनाउँछौं’, खतिवडाले भनेका छन्, ‘तर संशोधन नभए स्वीकार गर्न सकिने अवस्था भने देखिन्न ।’

एमसीसीकै कारण गठबन्धनभित्र थप किचलो बढ्ने संकेत

बुधबार पार्टीको भातृ संगठन वाईसीएलको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई प्रयोग गरेर सत्ता गठबन्धन फुटाउन खोजिएको टिप्पणी गरेका थिए । उनले एमसीसी राजनीतिक विषयका रुपमा अगाडि आएको बताएका थिए ।

‘प्रतिगमन परास्त गर्न बनेको गठबन्धनलाई एमसीसी प्रयोग गरेर फुटाउन सकिन्छ कि भनेर एकथरी लागिराखेका छन्’, प्रचण्डले भनेका थिए, ‘एमसीसी, आईपीएसलाई अगाडि सारिदियो भने यिनीहरुभित्र झगडा पर्ला कि भनेका छन् । हामीले यो बुझिराख्न जरुरी छ ।’

प्रचण्डले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच सुरु भएको संवादलाई शंकाको रुपमा पनि लिएका थिए ।

अहिले देउवा जसरी पनि एमसीसीलाई अगाडि बढाउने लाईनमा देखिनु र प्रचण्ड जसरी पनि फिर्ता गराउने लाईनमा देखिएका छन् । मन्त्रिपरिषद विस्तारमा ढिलाई हुनु र देउवाले चीनसँगको सीमा विवाद र तुइन प्रकरणलाई वेवास्ता गर्नुले पनि गठबन्धनभित्र अविश्वासको जन्म भएको देखिन्छ ।

प्रश्न १ : एमसीसीसँग सम्झौताको पछाडि नितान्त निःस्वार्थ सहयोग रहेको थियो भन्ने आधार के छ ?

जवाफ– एमसीसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नु हो । नेपालमा एमसीसीको लक्ष्य नेपाली नागरिकको जीवनस्तर तीव्र गतिमा सुधार गर्नु रहेको छ । एमसीसी नेपाल कम्प्याक्ट, नेपाल सरकारले नै देशको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण ठहर्‍याई चयन गरेका विद्युत् प्रसारण र सडक मर्मतसम्भार परियोजनाहरू सम्पन्न गर्नका निम्ति नेपाललाई उपलब्ध गराएको अनुदान हो । कम्प्याक्टका सर्तहरूको उल्लंघन हुने गरी अनुदान रकमको दुरुपयोग नभएमा यो रकम फिर्ता गर्नु पर्दैन ।

प्रश्न २ : नेपाल प्राथमिकतामा पर्नुको कारण सैन्य रणनीतिअन्तर्गत होइन भन्ने आधार के छ ?

जवाफ– प्रथमतः एमसीसीलाई लागू हुने अमेरिकी कानुन (मिलेनियम च्यालेन्ज ऐन–२००३) ले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको छ । यस कानुनी बन्देजका बारेमा कम्प्याक्टमा स्पष्ट छ । तसर्थ, यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीचमा कुनै सम्बन्ध छैन । एमसीसीको सञ्चालक समितिबाट कुनै पनि देश छनोटका लागि योग्य हुन (१) विश्व बैंकद्वारा न्यून–मध्यम आय भएको देशका रूपमा वर्गीकृत भएको हुनुपर्छ र (२) न्यायसंगत र लोकतान्त्रिक शासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रतामा आधारित एमसीसीको वार्षिक सूचकांकको स्कोरकार्डमा उत्तीर्ण हुनुपर्दछ ।

प्रश्न ३ : एमसीसीसँग सम्झौता नेपालको आफ्नो आवश्यकता र नेपालकै मागबमोजिम भएको हो ?

जवाफ– नेपालको आफ्नै प्रसारण लाइन गुरुयोजना सन् २०१५ को दस्ताबेजले पहिचान गरेको तथा पछि प्रसारण लाइन विकास योजना सन् २०१७ ले समेत आवश्यकताका रूपमा पुनः पुष्टि गरेको प्रसारण लाइनलाई नै एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएको थियो । नेपालको विकासमा उक्त परियोजनाको महत्त्वलाई स्वीकार गर्दै एमसीसी नेपाल कम्प्याक्ट विद्युत् प्रसारण परियोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको हो ।

प्रश्न ४ : अमेरिकाले दिने नेपालले लिने सामान्य प्रकारको अनुदानलाई ‘अन्तर्राष्ट्रिय सम्झौता’ भन्नुपर्ने आवश्यकता किन पर्‍यो ? तर, अन्तर्राष्ट्रिय सम्झौता भनी एमसीसी सम्झौता समावेश गरी नेपालको संविधान र कानुनलाई कमजोर पार्न खोजेको देखिन्छ । सम्झौताको दफा नम्बर ७.१ अनुसार त्यो होइन भन्ने आधार के छ ?

जवाफ– नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ । सबै एमसीसी साझेदार देशहरूसँग सम्पन्न भएका एमसीसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता हुन् । कम्प्याक्टलाई अन्तर्राष्ट्रिय सम्झौताको स्तरमा राखिनुको प्रभाव भनेको स्थानीय कानुनको कुनै निश्चित प्रावधानसँग बाझिने विरलै अवस्थामा बाहेक, कम्प्याक्ट परियोजनाहरूको कार्यान्वयन नेपालको कानुनअनुसार अगाडि बढ्ने भन्ने हुन्छ । त्यस्तो विरलै अवस्थामा कम्प्याक्ट परियोजनहरू कम्प्याक्टमा भएका आपसी सहमतिका सर्तहरू र नेपालको संविधानबमोजिम कार्यान्वयन हुन्छन् ।

प्रश्न ५ : कैयन् विकास निर्माण तथा लगानीसम्बन्धी सम्झौताहरू संसदीय अनुमोदनका लागि आवश्यक देखिएनन् । यो सम्झौतालाई अनुमोदन किन आवश्यक पर्‍यो ?

जवाफ– नेपाल सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत कम्प्याक्ट अन्तर्राष्ट्रिय सम्झौता हुनका लागि नेपाल कानुनअनुसार संसदीय अनुमोदन आवश्यक छ भन्ने निष्कर्ष निकालेको थियो ।

प्रश्न ६ : सम्झौताको संसदीय अनुमोदन भएपछि सम्झौताका अंश वा परियोजनामा हुने संशोधनलाई संसदीय अनुमोदन किन आवश्यक नपर्ने हो ?

जवाफ– एमसीसी नेपाल कम्प्याक्ट, एमसीसी र नेपाल सरकार अन्य निकायलगायत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसहितको बृहत् छलफलपश्चात् सन् २०१७ को सेप्टेम्बर (२०७४ भदौ) मा सम्पन्न भएको हो । हस्ताक्षर सम्पन्न भइसकेको एमसीसी नेपाल कम्प्याक्टलाई अहिले संशोधन गर्न सकिँदैन ।

प्रश्न ७ : के एमसीसी आईपीएसको मातहत छ ?

जवाफ– होइन, एमसीसी नेपाल कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन । एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन् । अमेरिका र नेपालबीचको बलियो सम्बन्ध हिन्द–प्रशान्त रणनीतिभन्दा धेरै अघिदेखिको हो ।

प्रश्न ८ : के नेपाल आईपीएसको सदस्य भएको छ वा सदस्य हुन मिल्छ ?

जवाफ– एमसीसी नेपाल कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन । एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन् । हिन्द–प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनै पनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहन्छ ।

प्रश्न ९ : एमसीसी सन् २००४ मा बनेको तर आईपीएस सन् २०१७ मा बनेको कसरी मातहत हुन सम्भव छ ?

जवाफ– एमसीसीको स्थापना सन् २००४ मा कानुनी शासन, जनतामाथि लगानी र आर्थिक स्वतन्त्रता जस्ता लोकप्रिय मूल्यप्रति कटिबद्ध देशहरूको आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण केन्द्रित रहने गरी भएको हो । एमसीसी नेपाल कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन, न त यो अमेरिकाको कुनै सैन्य रणनीतिको हिस्सा नै हो ।

प्रश्न १० : एमसीसी कम्प्याक्टपछि गरिएका सम्झौताहरू किन सार्वजनिक नभएका हुन् ?

जवाफ– एमसीए–नेपालको सञ्चालन नेपाली सरकारी अधिकारीहरू तथा नेपालको निजी क्षेत्र, नागरिक समाज र सामुदायिक नेतृत्वका सदस्यहरू सम्मिलित सञ्चालक समितिबाट हुन्छ । सन् २०१९ सेप्टेम्बर २९ मा हस्ताक्षर गरिएको कार्यक्रम कार्यान्वयन सम्झौता हस्ताक्षर भएको मितिदेखि नै एमसीए–नेपालको वेबसाइटलगायतमा सार्वजनिक रूपमा उपलब्ध छ ।

प्रश्न ११ : सम्झौतामा भएका निम्न दफावार विवादित विषयलाई कसरी प्रस्ट पार्नुपर्छ ? सम्झौताको दफा २.८ अनुसार विदेशीस्तरको पारिश्रमिक सुविधा प्राप्त गर्ने आयोजनामा काम गर्ने कसैलाई पनि कुनै पनि प्रकारको करबाट मुक्त गर्नु कति न्यायोचित मान्न सकिन्छ ?

जवाफ– अनुदानको ५० करोड अमेरिकी डलर रकम नेपाली जनताको हितमा परियोजनाहरूको कार्यान्वयन गर्नका लागि उपलब्ध गराउन कम्प्याक्टको कर छुटसम्बन्धी प्रावधानले सुनिश्चित गर्दछ ।

२६ प्रतिशत लगानी नेपालको पनि हुने तर त्यसबाट हुने बौद्धिक ज्ञान सम्पूर्ण रूपमा एमसीसीको हुने कुराले नेपालको सम्प्रभुतामा आँच पुर्‍याउँदैन र ?
जवाफ– कम्प्याक्ट कार्यक्रमका सम्बन्धमा सिर्जित भएको सम्पूर्ण बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व हुन्छ । यस्तो बौद्धिक सम्पत्तिमा एमसीसीको कुनै पनि स्वामित्वको हक हुँदैन ।

अमेरिकाको वर्तमानमा भएको कानुन र भविष्यमा बन्ने नीतिको उल्लंघन भएका सम्झौता अन्त्य गर्ने भन्ने प्रावधानले नेपालको आफ्नो अस्तित्व, सार्वभौम अधिकार नै अमेरिकी नियन्त्रणमा परेको देखिनाले सम्प्रभुतामाथि आँच आएको देखिँदैन ?
जवाफ– अमेरिकाका कानुन वा नीतिको उल्लंघन गर्ने कुनै पनि कार्यका लागि एमसीसीको अनुदान प्रयोग गर्न पाइँदैन भन्ने कुरा दफा ५.१ (ख) (३) ले जोड दिएको छ । उक्त दफाको उद्देश्य एमसीसी अनुदानको उपयोगको सन्दर्भमा सीमित गर्नु मात्रै हो तर एमसीसीबाहेकका अन्य सहायताको हकमा नेपाल सरकारको सार्वभौमिकतामाथि कुनै बाध्यता वा सीमितता सो दफाले सिर्जना गर्दैन ।

नेपालको प्रशासन व्यवस्था र अनुगमन प्रणालीको कमजोरीलाई लिएर नेपालको कानुन, शासन व्यवस्था र सार्वभौमिकतालाई नै असर गर्ने गरी सो सम्झौतालाई अन्तर्राष्ट्रिय कानुन भन्नुको पछाडिका कारण के हुन् ?
जवाफ– नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ । कम्प्याक्टलाई अन्तर्राष्ट्रिय सम्झौताको स्तरमा राखिनुको प्रभाव भनेको स्थानीय कानुन कुनै निश्चित प्रावधानसँग बाझिने विरलै अवस्थामा बाहेक, कम्प्याक्ट परियोजनाहरूको कार्यान्वयन नेपालको कानुनअनुसार अगाडि बढ्ने भन्ने हुन्छ । त्यस्तो विरलै अवस्थामा कम्प्याक्ट परियोजनाहरू कम्प्याक्ट भएका आपसी सहमतिका सर्तहरू र नेपालको संविधानबमोजिम कार्यान्वयन हुन्छन् ।

सम्झौताको दफा ७.१ अनुसार सम्झौतासँग नेपालको कानुन बाझिएको हदसम्म नेपालका कानुन अमान्य हुने व्यवस्थाले हाम्रो सार्वभौमिकतामा के असर पर्छ ?
जवाफ– नेपालको संविधान एमसीसी नेपालको कम्प्याक्टभन्दा सधैं माथि हुन्छ । यसका अतिरिक्त नेपाल सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत एमसीसी नेपाल कम्प्याक्ट दफा ७.१ लगायत सबै प्रावधानहरूको समीक्षा गरी कम्प्याक्टका प्रावधानहरू नेपालको कानुनसँग बाझिएका छैनन् भन्ने निष्कर्ष निकालेको छ ।

नेपालको प्रश्नमा एमसीसीको जवाफ

वि.सं.२०७८ भदौ २४ बिहीवार १४:१२ मा प्रकाशित

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...