भदौ २४, काठमाडौं । सत्ता गठबन्धनको बैठक विषयमा नै प्रवेश नगरी स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो बोलाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल उपस्थित थिए । तर, जसपा अध्यक्ष यादव उपस्थित नभएपछि बैठक विषयमा नै प्रवेश नगरी स्थगित भएकाे हाे ।
‘उपेन्द्र जी आउनुभएन, माधव जी पनि निकै ढिलो गरि आउनुभयो’, बैठकबारे जानकारी दिँदै राजमाे नेतृ दुर्गा पौडेलले भनेकी छिन्, ‘हामी विषयमा नै प्रवेश गरेनौं, सबै नआएपछि छलफलको अर्थ रहेन भन्ने भयो, हामी फर्कियौं ।’
पौडेलले बताएअनुसार प्रधानमन्त्री देउवाले पुनः शुक्रबार बिहान सबै नेतालाई उपस्थित हुन भनेका छन् ।
पौडेलका अनुसार मन्त्रिपरिषद विस्तारबारे निर्णय लिन र एमसीसीका विषयमा साझा धारणा बनाउन बैठक बोलाइएको थियो ।
सरकार गठनको झण्डै दुई महिना पुग्न लाग्दा पनि एकातिर मन्त्रिपरिषदले पूर्णंंता पाउन सकेको छैन् भने अर्कोतिर एमसीसीको विषयमा सत्ता गठबन्धनभित्र विवाद बढेको देखिन्छ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा आइरहँदा देउवाले साझा धारणा बनाउन छलफल राखेका हुन् ।
वि.सं.२०७८ भदौ २४ बिहीवार १७:४८ मा प्रकाशित






























