२८ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार चार दिने नेपाल भ्रमण सकेर फर्किएकी छन् । उनी चार दिने नेपाल भ्रमण सकेर आइतबार साँझ फर्किएकी हुन् । भ्रमणको क्रममा सुमारको टोलीले विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी परियोजना पास गराउने वातावरण बनाउन पहल गरेको थियो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँगबाट भेटघाट शुरु गरेको सुमारको टोलीले काठमाडौंमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईलगायतका भेटेको थियो ।
आइतबार नागपोखरीस्थित मेरियट होटलमा पत्रकार सम्मेलन गरेरै एमसीसी परियोजना नेपालले पास गर्न ढिला भइसकेको तथा आफू पास हुनेमा आशावादी हुँदै फर्किन लागेको सुमारले बताएकी थिइन् । पत्रकार सम्मेलनमा उनले एउटै बाक्य पटक–पटक दोहोर्याउँदै भनिन्–म एमसीसी पास हुनेमा ढुक्क छु ।
सुमारलाई कसले के आश्वासन दिए ?
बिहीबार नेपाल उत्रिएसँगै सुमारको टोलीले सबैभन्दा पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो । ओली निवास बालकोट नै पुगेर टोलीले एमसीसीलाई अगाडि बढाउने विषयमा सहयोग गर्न ओलीसँग आग्रह गरेको थियो । भेटमा एमाले अध्यक्ष ओलीले एमसीसीप्रति सत्ता गठबन्धनको धारणा आएपछि मात्रै आफूहरुले धारणा सार्वजनिक गर्ने बताएका थिए ।
शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकमा सुमारसँगको भेटबारे छलफल भएको थियो । बैठकमा ओलीले एमसीसीलाई ठाडै रिजेक्ट गर्नुभन्दा संशोधनसहित पास गर्नु उचित हुने कुरा बताएको बाहिरिएको छ ।
ओलीलाई भेटेकै दिन सुमारको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेको थियो । भेटमा नेता नेपालले एमसीसी सैन्य रणनीतिसँग नजोडिएको हुनुपर्ने तथा नेपालका लागि एमसीसी ठिक छ भन्ने पुष्टि भएपछि मात्रै पारितको प्रक्रिया अगाडि बढ्ने धारणा सुनाएका थिए ।
ओली र नेपालसँगको भेटपछि सुमार टोलीले अर्का पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई भेटेको थियो । भेटमा भट्टराईले एमसीसीको विषयमा आफ्नो पार्टी सकारात्मक भएको बताएका थिए । उनले सबै दलहरु छलफल गरेर एमसीसीलाई अगाडि बढाईने आश्वासन दिएका थिए ।
ओली, नेपाल र भट्टराईलाई भेटेको भोलिपल्ट अर्थात् शुक्रबार सुमार टोलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको थियो । भेटमा अध्यक्ष प्रचण्डले एमसीसीबारे राजनीतिक दलहरुसँग सहमति गरेर मात्र अगाडि बढ्न सकिने बताएका थिए । उनले यसअघि सार्वजनिक गरेकै धारणा (सम्झौता संशोधन)को विषयलाई सुमारसँग राखेको बुझिएको छ ।
सबैजसो नेताहरुसँग भेटघाट गरेपछि मात्रै शुक्रबार साँझ उपाध्यक्ष सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे धेरै भ्रम फैलिएको भन्दै भ्रम चिर्न केहि पर्खिदिन आग्रह गरेका थिए । सञ्चार माध्यममा सार्वजनिक भएअनुसार देउवाले एमसीसी पास गराउने आश्वासन सुमार टोलीलाई दिएका थिए ।
सुमारको स्वागतभन्दा विरोध बढी
एमसीसीकी उपाध्यक्ष सुमारको नेपाल भ्रमणका समयमा स्वागतभन्दा विरोध बढी भएको छ । उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रदासाथ एमसीसी विरोधीहरुले कालो झण्डा देखाएका थिए ।
सुमारको पहिलो भेट (ओलीसँगको भेट) लगत्तै पनि उनलाई एमसीसी बहिस्कार अभियानका टोलीले बालकोटमै पुगेर कालोझण्डा देखाएका थिए । सुमार काठमाडौंमा आएसँगै निरन्तर एमसीसी विरोधी अभियान आक्रामक रुपमा देखिएको छ । एमसीसीको विरोध गर्ने विभिन्न राजनीतिक दल, संगठन, संघसंस्थाहरुले विरोध गरिरहेका छन् ।
सुमार लक्षित विरोध प्रदर्शनहरु आक्रामक हुने देखेसँगै सरकारले पनि उनको भ्रमण समयभर उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएको थियो । सुमार टोली फर्किएसँगै पनि काठमाडौंमा विरोध प्रदर्शनहरु भईरहेका छन् । केहि दिनअघि साताव्यापी विरोध प्रदर्शनको आव्हान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौंमा जनप्रदर्शन गरेको छ ।
वि.सं.२०७८ भदौ २८ सोमवार ०८:४८ मा प्रकाशित






























