२८ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी पास गराउने मुर्खता नगर्न भन्दै प्रधामन्त्री शेर बहादुर देउवालाई चेतावनी दिएको छ ।
सोमवार काठमाडौं एमसीसी सम्झौताको विरोधमा बृहद प्रदर्शन गरेको उक्त पार्टीका महासचिव खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रदर्शनका क्रममा सम्बोधन गर्दै एमसीसी सम्झौतागर्ने गल्ति पहिले गरिसकेकोले त्यसलाई पारित गरेर अर्को गल्ति नगर्न चेतावनी दिए ।
‘तपाईहरुलाई यो गल्ती सच्याउने ठाउँ छ । त्यसैले त्यो गल्ति नगर्नुस् । ५० करोड अमेरिकी डलरको ५५–६० अर्बको लोभमा नेपाली जनताको आन्दोलनको भुमरीमा किन पर्नुहुन्छ ?’ सम्बोधनका क्रममा विश्वकर्माले भने, ‘नेपाली जनताले राष्ट्रघात गर्ने दलालहरुलाई आगामी एकिकृत जनक्रान्तिको निशाना बनाउने छन् त्यो कुरा तपाईहरुले राम्रोसँग हेक्का गरेर राखेहुन्छ ।’
नेता विश्वकर्माले विगत एक हप्तादेखि देश आन्दोलित भएको भन्दै एमसीसीका लागि वकालत गर्नेहरुप्रति पनि खबरदारी गरेका थिए ।
‘अमेरिकी हस्तक्षेप र अमेरिकी शाषकहरु नै मनपर्छ भने तपाईहरु नेपालमा किन बस्नुहुन्छ ? नेपाल छोडेर अमेरिका जानुस् न । होइन भने तपाईहरुलाई नेपाली जनताले लाठा लगाएर देशबाट निकाल्नुपर्ला । त्यसको नेतृत्व पनि नेपाल कम्युनिष्ट पार्टीले गर्छ ।’
उनले नेपालबाट एमसीसी खारेजीका लागि आफ्नो पार्टीले संघर्षको नेतृत्व लिन तयार रहेको समेत बताए ।
उनले आगामी संसदीय चुनावलाई खारेज गरेर जनमत संग्रहबाट जनताले आफ्नो व्यवस्था स्थापना गर्ने समेत बताए ।
विरोध प्रदर्शनमा महासचिव विप्लव, हेमन्तप्रकाश ओली नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०७८ भदौ २८ सोमवार ०८:३२ मा प्रकाशित






























