Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली कांग्रेसको प्रदेश अधिवेशनः यस्तो छ ६ वटै प्रदेशको नयाँ नेतृत्व



काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानलैसहित निर्वाचन भएपनि कांग्रेसले संघीयताको मर्म अनुरुप संरचना संस्थागत गरेको छ ।

१४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसले ७ मध्ये ६ वटा प्रदेशमा कार्यसमिति तयार गरिसकेको छ । प्रदेशस्तरको चुनावमा पनि प्रभावशाली केन्द्रीय सदस्यहरु सभापतिको प्रत्यासी बनेपछि कांग्रेसमा प्रदेश संरचना कार्यकारी र आकर्षित हुन पुगेको मत परिणामहरुले देखाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेता वीर बहादुर बलाएरले सभापतिमा जितेका छन् भने प्रदेश १ मा गुरुराज घिमीरे २ मतले हारेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा अर्जुन जोशी पनि शुक्रराज शर्मासँग पराजित भएका छन् ।

बागमती प्रदेश र १ नम्बर प्रदेशको निर्वाचनमा देउवा र सिटौला पक्षको गठबन्धनले पूर्ण बहुमत ल्याएका छन् । यद्यपी प्रदेशका पदाधिकारीहरुमा रामचन्द्र पक्षको पनि सम्मानजनक उपस्थित रहेको छ ।

६ प्रदेश मध्ये पाँचवटामा संस्थापन पक्षको वर्चस्व
नेपाली कांग्रेसको शनिवार ६ वटा प्रदेशमा सम्पन्न प्रदेश अधिबेशनको निर्वाचनले सभापति लगायतका अन्य पदमा नयाँ नेतृत्व चयन गरिसकेको छ ।

कतै दुइपक्षीय त कतै त्रिपक्षीय रुपमा भएको प्रतिश्प्रर्धाबाट उम्मेदवारी दिएकाहरुमा शेरबहादुर देउवा समुहले ५ वटा प्रदेश र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गण्डकी प्रदेशमा मात्र आफ्नो नेतृत्व चयन गर्न सफल भएको छ ।

देउवा समूहले लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन, कर्णाली प्रदेशमा ललितजग शाही र सुदूरपश्मि प्रदेशमा वीर बहादुर बलाएरलाई सभापतिमा निर्वाचित गरेको छ भने बागमती प्रदेशमा भएको त्रिपक्षीय प्रतिश्प्रर्धामा कृष्ण प्रसाद सिटौला र शेरबहादुर देउवा समूहले इन्द्र बानियाँलाई सभापतिमा निर्वाचित गरेको छ । साथै प्रदेश १ को सभापतिमा सिटौला र देउवा पक्षका उद्धब थापा निर्वाचित भएका छन् ।

यस्तो कांग्रेसको प्रदेश कार्यसमिति संरचना

कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानिया

नेपाली कांग्रेसको बागमती प्रदेश अधिबेशनको निर्वाचनको मत परिणामको अन्तिम नतिजा अनुसार प्रदेश सभापतिमा इन्द्र बानिया निर्वाचित भएका छन् । शेरबहादुर देउवा निकट मानिने बानियाँलाई कृष्ण प्रसाद सिटौला समुहका भिमसेन दासले पनि समर्थन गरेपछि सभापतिमा बिजयी भएका हुन् ।

बानियाँले १०८५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिश्प्रधी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जगदिश नरसिंह केसीले ९२७ मत प्राप्त गरेर पराजित भएका छन् । केसी नुवाकोट कांग्रेसका निर्वतमान सभापति समेत हुन् ।

बागमती प्रदेशमा शेर बहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद पौडेल समुहका तीन उम्मेदवारको त्रिपक्षीय प्रतिश्पर्धा भएको थियो ।
शनिवार सम्पन्न निर्वाचनको आइतवार सार्वजनिक गरिएको मत परिणाम अनुसार सभापतिका तीनैजना उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि सभापतिका लागि पुनः मतदान भएको थियो । त्यसमा सिटौला पक्षीय भिमसेनदासले मिलेर जानुपर्ने बताउँदै आफ्नो समर्थन शेरबहादुर समूहका बानियाँलाई दिएका थिए ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका बानियाँ बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर कांग्रेसका सभापति समेत हुन् । बागमती प्रदेशमा रहेको कूल मत २१५१ मध्ये २०२५ मत खसेको थियो ।

प्रदेश १ मा उद्धव थापा
निर्वाचनको मत परिणाम अनुसार प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पक्षका थापाले शेरबहादुर पक्षको समेत समर्थनसहित सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिमा विजयी थापाले ८४४ मत ल्याएर सभापतिका अर्का उम्मेदवार गुरुराज घिमीरेलाई पराजित गरेका हुन् । घिमीरे २ मतको अन्तरले मात्र पराजित भएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका घिमीरेले ८४२ मत प्राप्त गरेका थिए । प्रदेश अधिबेशनको निर्वाचनमा कूल १ हजार ७५२ मत खसेको थियो ।

त्यसैगरी प्रदेश उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भएका छन भने महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भएका छन् ।

त्यस्तै सहमहामन्त्रीमा प्रमिला गच्छदार, खङ्ग फागो र बिनोदकुमार बस्नेत निर्वाचित भएका छन् ।

निर्वाचनको मत परिणाम असामान्य भएको भन्दै घिमीरे पक्षले पुनः मतगणनाको माग गरेका छन् । तर, निर्वाचन समितले भने यसबारेमा आफ्नो धारणा नराखेको बताइएको छ ।

लुम्बिनी प्रदेशमा अमर सिंह पुन मगर

लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन् । शनिवार सम्पन्न नेपाली कांग्रेसको प्रदेश अधिबेशनको निर्वाचनको आइतवार आएको मतपरिणामअनुसार केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका अमरसिंह पुनले ८५२ मत ल्याएर प्रदेश सभापतिमा विजयी भएका हुन् ।

कूल १६३१ मत खसेकोमा पुनले ८५२ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिश्प्रधी भरतकुमार शाहले ७६७ मत ल्याएर पराजित भएका थिए । शाहले भन्दा पुन मगरले ८५ मत बढी ल्याएर वियजी भएका हुन् ।

पूर्व राज्यमन्त्री समेत रहेका पुन मगर नेपाली कांग्रेस रोल्पाका निर्वतमान सभापति तथा संविधानसभा सदस्य समेत हुन् ।

त्यसैगरी प्रदेश सभापतिमा भुवन श्रेष्ठ, राजु खनाल विजयी भएका छन् भने महामन्त्रीमा विक्रम खनाल, महिला सहमहामन्त्रीमा निमा गिरी तथा खुल्ला सहमहामन्त्रीमा विष्णु खनाल मुस्कान र खगराज पाण्डे विजयी भएका छन् ।

लुम्बिनी प्रदेशसँगै शेर बहादुर देउवा समूहले कर्णाली, सुदूरपश्चिम गरी ३ प्रदेशमा आफ्नो वर्चस्व कायम गरेको छ भने पौडेल समूहका शुक्रराज शर्मा गण्डकी प्रदेशको सभापतिमा निर्वाचित भएका छन् ।

हालसम्म संस्थापन पक्षको सुदूरपश्चिम सभापतिमा वीर बहादुर बलाएर, कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही र लुम्बिनी प्रदेशमा अमरसिंह पुन विजयी भएका हुन् ।

सुदूरपश्चिममा बीर बहादुर बलाएर

सुदूरपश्चिम प्रदेशको सभापतिमा संस्थापन पक्षका बीर बहादुर विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा खसेको मत परिणाम अनुसार पूर्वमन्त्री समेत रहेका बलायरले ६८८ मत ल्याएर सभापतिमा विजयी भएका छन् । साथै उनका प्रतिद्धन्द्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत मात्र ल्याएर पराजित भएका छन् ।

त्यस्तै प्रदेशको उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थीले ५२३ मत ल्याएर विजयी भएका छन् । उपसभापतिका अर्का प्रतिश्प्रधी गोपाल सिंह गुरुङलेः २८१, .मनबहादुर रावलले  २६३ र हिम बहादुर रावलले २१२ मत प्राप्त गरेर पराजित भएका छन् । विजयी भएका चौधरी र अवस्थी पनि देउवा समूहकै हुन् ।

निर्वाचन समितिका अनुसार नरनारायण शाह मनुले ६४८ मत र .मेघराज खड्का ६३५ मत ल्याएर महामन्त्रीमा विजयी भएका छन् ।
त्यस्तै सह–महामन्त्री गोपाल दत्त भट्ट ५२ र .चिन्तामणि भट्टले ५३३ मत ल्याएर विजयी भएका छन् । सह–महामन्त्री (महिला) तर्फबाट १.अम्बिका चलाउनेलेः ६८८ बिजयी मत ल्याएर विजयी भएकी छन् । साथै अर्काै प्रत्यासी खिना भण्डारी (कुँवर) ः २३२ मत प्राप्त गरेकी थिइन् ।

कर्णाली प्रदेशमा ललितजंग शाही

कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । शनिवार सम्पन्न कांग्रेसको कर्णाली प्रदेशको निर्वाचनमा कांग्रेस सभापति शेर बहादुर देउवा समूहका शाहीले ४२२ मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।

त्यसैगरी उनका प्रतिश्पर्धी भुपेन्द्रजंग शाहीले ३१७ मत ल्याएर पराजित भएका छन् । सभापतिका लागि भएको त्रिपक्षीय प्रतिश्पर्धामा सभापतिका अर्का प्रत्याशी मोतीराज बम ७ मत मात्र ल्याएका थिए । बम कांग्रेस उपसभापति विमेलेन्द्र निकट मानिन्छन् ।

त्यसैगरी उपसभापतिमा पनि देउवा पक्षकै उम्मेदवार कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकाया तथा सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही निर्वाचित भएको बताइएको छ ।

गण्डकी प्रदेशमा शुक्रराज शर्मा

गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । शनिवार सम्पन्न कांग्रेसको प्रदेश अधिबेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा खसेको कूल १ हजार १४६ मतमा शर्माले ६१२ मत ल्याएर प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

शर्माले अर्का प्रतिश्प्रर्धी पर्वतका अर्जुन जोशीले भन्दा ७४ मत बढी ल्याएर सभापतिमा विजयी भएका हनु । जोशीले ५३८ मत ल्याएर पराजित भएका थिए ।

गण्डकी प्रदेशको सभापतिमा निर्वाचित शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने जोशि संस्थापन पक्ष शेरबहादुर देउवा समुहका मानिन्छन् ।

त्यसैगरी पौडेल पक्षकी कल्पना तिवारीले ६२४ मत र देउवा पक्षका मेखलाल श्रेष्ठ ५५६ मत सहित प्रदेश उपसभापतिमा विजयी भएका छन् । उपसभापतिमा निर्वाचित तिवारी वालिङ नगरपालिकाकी उपमेयर हुन् भने श्रेष्ठ गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री हुन् ।

यसैगरी महामन्त्रीमा किरणबाबु श्रेष्ठ ५७३ र विष्णु प्रसाद लामिछानले ५६७ मत प्राप्त गरेर विजय भएका छन् । उनीहरु दुवैजना पौडेल पक्षका मानिन्छन् । साथै सहमहामन्त्रीमा पनि पौडेल पक्षकै कोपिला रानाभाटले ५५२ मत ल्याएर विजयी भएकी छन् ।

त्यस्तै खुला सहमहामन्त्रीमा रमेश कुमार पाण्डे ६१८ मत र रामचन्द्र जोशीले ५६९ मत ल्याएर विजयी भएका छन् । उनीहरु पनि पौडेल पक्षकै मानिन्छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी