काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थापनइतर समूहबाट सभापतिका साझा उम्मेदवार बन्ने सम्भावना बढेको छ । संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरुको भेलाले पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेसँगै यस्तो सम्भावना बढेको हो ।
नेताहरुले सभापतिका आंकाक्षी प्रकाशमान सिंह र शेखर कोइरालालाई मनाउने प्रर्यत्न गरिरहेका छन् । नेताहरुले सभापतिका आकांक्षीलाई उपसभापति पद दिएर व्यवस्थापनको प्रयास थालेको बुझिएको छ ।
केन्द्रीय समितिको भेला लगत्तै अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारे पुगेका थिए भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायतको समूह शेखर कोइरालालाई भेट्न पुगेका थिए ।
सभापतिका आंकाक्षी देखिएका अर्का उम्मेदवार शशांक कोइरालाले प्रकाशमान सिंह र शेखर कोइराला पौडलको सहमत भए आफुले अडान छाड्ने बताइसकेका छन् । शशांक कोइराला जस्तै अन्य नेताहरु पनि सहमत हुनसक्ने सम्भावना बढेको नेताहरुले बताएका छन् ।
नेताहरु पौडेल समूहबाट पौडेललाई साझा उम्मेदवार बनाएसँगै सिटौला समूहसँग परामर्श गर्ने तयारी पनि गरेका छन् । सिटौला समूहलाई सहमत गराउन सकेमा संस्थापनइतरबाट पौडेल साझा उम्मेदवार बन्ने निश्चित छ । नेताहरुले आन्तरिक रुपमा सहमति भए सिटौलालाई मनाउन सकिने बताएका छन् ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १२:२५ मा प्रकाशित




























