काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने छलफलमा संस्थापनइतरका नेताहरु जुटेका छन् ।
आज देखि सुरु भएको कांग्रेसको १४ औं महाधिबेशन तथा नयाँ नेतृत्व चनयका लागि हुन थालेको निर्वाचनको पूर्वसन्ध्यामा पौडेललाई नै साझा उम्मेदवार बनाउन संस्थापनइतरका नेताहरु पौडेल निवासमा जुटेको बताइएको छ ।
यसअघि प्रकाशमान सिंह र शेखर कोइरालाद्धयले सभापतिमा उठ्ने आफ्नो अडान नछाडेपछि पौडेलले आफुलाई सभापति नदिए राजनीतिबाटै सन्यास लिने समेत बताएका थिए ।
बिहीवार राति १२ बजेसम्म पनि पौडेललाई नै साझा उम्मेदवार बनाउने भनिएपनि सहमति जुट्न नसक्दा आज पुनः नेताहरु छलफलमा बसेको बताइएको छ ।
यसैबीच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मतरुपमा सभापति बनाउन तयार भए आफु चुनावी मैदानबाट पछि हट्ने अन्यथा आफ्नो उम्मेदवारी यथावत रहने बताएका छन् ।
उनले पौडेललाई सर्वसम्मत सभापति चयन गरेर कांग्र्रेसले एकताको सन्देश दिनुपर्ने बताउँदै सबैलाई एकताको सन्देशदिन समेत आव्हान गरेका छन् ।
अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, गगन र रामचन्द्र पौडेल लगायतका नेताहरु उक्त छलफलमा सहभागी भएको र शुक्रवार बेलुकीसम्म सहमतिको प्रयास गरेर साझा उम्मेदवारसहित चुनावी मैदानमा उत्रने डा. मिनेन्द्र रिजालले जानकारी दिएका छन् ।
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १२:५८ मा प्रकाशित




























