काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु भएको छ । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो चरणको निर्वाचनमा सभापतिका अन्य तीन जना उम्मेद्वार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ्ग प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनीहरु तीनै जनाले देउवालाई सहयोग गर्ने घोषणा पनि गरेका हुन् ।
कांग्रेसमा देउवाको विकल्प खोज्नैपर्छ भनेर लागेका तीनैजनाले पुनः देउवालाई नै समर्थन गर्ने निर्णय गरेसँगै भने केही प्रश्नहरु सिर्जना भएका छन् । झण्डै एक दशकदेखि देउवाको नेतृत्व र कार्यशैलीको विरोध गर्दै आइरहेका प्रकाशमान सिंहले अस्वभाविक रुपमा समर्थन जनाएका छन् । जसलाई संस्थापन पक्षले नै अस्वभाविक मानिरहेको देखिन्छ ।
यता, विमलेन्द्र निधि देउवाको विकल्प खोज्न जबरजस्त अगाडि आएका पात्र हुन् । प्रतिस्पर्धामा निकै कमजोर देखिएका भएपनि उनी देउवाको विकल्प खोज्न रामचन्द्र पौडेलसमक्ष समेत गुहार माग्न पुगेका थिए । दोस्रो चरणको निर्वाचनमा उनको सुई १८० डिग्रीले परिवर्तन हुनुलाई सामान्य मान्न मिल्दैन ।
संस्थापन इतरको समूहमा रहेका र देउवाको निरन्तर विरोध गर्दै आइरहेका नेताहरुले अन्तिम अवस्थामा आफ्नो सुई १८० डिग्रीमा घुमाउनुले धेरै आंशकाहरु जन्माएका छन् । उनीहरु किन एकै पटक परिवर्तन भए भन्ने विषय खुल्दै जाला तथापी अहिले सतहमा सत्ता र शक्तिबारे भने बारगेनिङ्गका कुरा जोडिएको चर्चा छ ।
सत्ता र शक्तिमा बारगेनिङ्ग
देउवा २०७२ फागुनमा भएको कांग्रेसको १३ औं महाधिवेशनसँगै पार्टीको नेतृत्वमा छन् भने उनी त्यसयता ०७४ र पछिल्लो परमादेशसँगै दुई पटक प्रधानमन्त्री बनिसकेका छन् । निरन्तर पार्टीको नेतृत्वमा रहनु र सत्तामा रहिरहनुले देउवालाई राजनीतिक खेल खेल्न भित्र र बाहिर दुवैतर्फ सजिलो छ । पछिल्लो महाधिवेशनमा पनि देउवाले सत्ताको प्रयोग गरेर आफुँ विरोधी समूहलाई आफुँ अनुकुल बनाउने काम गरेका देखिन्छन् ।
कांग्रेस निकट नै सिंह, निधि र गुरुङ्गको सुई घुमाईलाई सत्ताको प्रभाव भन्ने गर्दछन् । निधि र सिंहले समर्थन गर्नुको पछाडि सत्ताका लागि बागेरिङ्ग गरेको कांग्रेस निकटस्थ बताउँछन् । देउवा निकटस्थ एक नेताले बताएअनुसार समर्थन गर्नुको लागि उनीहरुले आफुँ स्वंयको नियुक्ती र आफ्नो समूहका नेताहरुको व्यवस्थापनको विषय राखेका थिए । जसमा देउवाले सहमति गरेसँगै उनीहरुले समर्थन गरेको घोषणा गरेका हुन् ।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशन : दोस्रो इनिङ्गमा देउवाले जित्ने पक्का, एक्लिए शेखर
वि.सं.२०७८ मंसिर २८ मंगलवार १६:११ मा प्रकाशित




























