काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहभागी नहुने भएको छ । एमसीसीबारे छलफल गर्न देउवाले अपरान्ह ४ बजे बोलाएको सर्वदलीय बैठकलाई एमालेले भने बहिस्कार गर्ने निर्णय गरेको हो ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाएकाले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताएका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समस्या सरकार, एमाले र सभामुखबीच रहेकाले सर्वदलीय बैठकमा आफूहरू साक्षी बस्न सहभागी नहुने बतए ।
संसदको गतिरोध हटाउन सभामुख अग्नि सापकोटाले एमालेसँग संवाद गर्नुपर्ने उनको भनाई छ ।
प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने तयारी प्रधानमन्त्री देउवाको छ। त्यसअगाडि प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन् ।
तर संसदको ठूलो शक्ति एमालेले सर्वदलीय बैठकमा भाग नलिने निर्णय गरेसँगै भने बैठकको औचित्यतामाथि नै प्रश्न उब्जेको छ ।
वि.सं.२०७८ पुस ४ आइतवार १३:३७ मा प्रकाशित






























