रामपुर । पाल्पाको निस्दी गाउँपालिका-७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत् पुगेको हो ।
करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । साविक ज्यामिरे गाउँ विकास समिति-१ को चारघरे, ज्यामिरे क्षेत्र अहिले विद्युत् सुविधा उपभोग गर्ने पहिलो गाउँ बनेको छ ।
स्थानीयवासी मुक्तबहादुर पाटाले बिजुली बत्ती उपभोग गर्न पाएपछि लेखपढ गर्न, खाना पकाउन, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको छ बताए । लामो समयदेखि विद्युत् सेवाको पर्खाइमा रहेका निस्दीको ज्यामिरे, चारघरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीयवासी खुसी भएका छन् । टुकीको भरमा जीवन बिताएका स्थानीय वासिन्दा विद्युत् सुविधाले गाउँ नै उज्यालो बनेको देख्दा दङ्ग भएको लालीगुराँस सामुदायिक विद्युत् सहकारी संस्थाका अध्यक्ष दुर्गबहादुर सोमैले बताए ।
रासस
वि.सं.२०७८ पुस १५ बिहीवार १३:०३ मा प्रकाशित






























