काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि युवा नेता लेखनाथ न्यौपानेले खरो आलोचना गरेका छन् । उनले प्रचण्डको प्रतिवेदन प्रतिगामी भएको निष्कर्षसहित १० बुँदे फरक मत जारी बन्दसत्रमा पेस गरेका छन् ।
सातौं महाधिवेशनमा पेस भएको प्रतिवेदनभन्दा अहिले प्रस्तुत प्रतिवेदन पछाडि फर्किएको न्यौपानेको निष्कर्ष छ । प्रचण्डको प्रतिवेदनले आठौं महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व नबोक्ने न्यौपानको ठहर छ ।
‘महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हन्छ त्योअनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन’, न्यौपानेले भनेका छन्, ‘कि अध्यक्ष प्रचण्डले लेख्नुभएको हुनाले जस्तो भएपनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नुपर्यो ।’
न्यौपानेले प्रतिवेदनले माथिमाथि उडान भरेको तर, जमिनमा खुट्टा नटेकेको तर्क गरेका छन् । उनले नेपाली समाजको चरित्र तथा अन्तरविरोधहरुलाई विश्लेषण गर्न नसकेको बताएका छन् ।
उनले प्रचण्डको प्रतिवेदनले संशोधनवादी दिशा समातेको पनि निष्कर्ष सुनाएका छन् । ‘यो प्रतिवेदनले वाम बाटो समातेको छैन, दक्षिणपन्थी संशोधनवादी दिशा सोझिएको प्रतिवेदन माओवादी कम्युनिष्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ ?’, न्यौपानेको प्रश्न छ, ‘घुमिफिरी रुम्जाटार भनेझैं’ हामी पनि संशोधनवादकै खाडमा जाकिने कुरामा शंका रहन्न ।’
उनले यो व्यवस्था र सत्ताबाट समाजवाद ल्याउने कुरा कोरा कल्पना मात्रै भएको बताएका छन् । न्यौपानेले सेनापति र पशुपतिको भट्ट फेर्न नसकेको कुरा उठाएका छन् ।
०६३ देखि पटक–पटक सरकारमा सहभागी हुँदा के काम भयो भन्ने प्रश्न न्यौपानेको छ । ‘०६३ पछि हाम्रो नेतृत्वमा ३ वटा सरकार बने साथै त्यस अतिरिक्त प्रायः सबै सरकारमा हामी सहभागी छौं, एउटै पात्र पटकौं मन्त्री बनेको छ, उनीहरुको न पारदर्शिता र कार्यसम्पादनसहितको मूल्यांकन छ न त गणना गर्न लायक जनताले अनुभूत हुनेगरी गुणात्मक कुनै काम नै भयो । हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन्, तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे ?’, न्यौपानेको प्रश्न छ ।
उनले अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको टिप्पणी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमा जस्तै प्रवृत्ति प्रचण्डमा पनि देखिएको बताएका छन् । महाधिवेशन स्थलमा राखिएको प्रचण्डको ब्यूँख्याचाप्रति न्यौपानको कडा आपत्ति छ ।
‘तपाईँ आफैं ससशीर उपस्थित भएको ठाउँमा तपाईँका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो ?’, न्यौपानेको प्रश्न छ, ‘कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बिर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’
यस्तो छ न्यौपानले पेश गरेको फरक मत
वि.सं.२०७८ पुस १५ बिहीवार १५:४३ मा प्रकाशित




























