back
CTIZAN AD

सोभियत संघ विघटनकाे ३० वर्षमै पुटिनले कसरी बनाए रुसलाई महाशक्ति ?

वि.सं.२०७८ पुस १८ आइतवार

819 

shares

काठमाडाैं। यो लगभग तीस वर्ष पुरानो कुरा हो, जब सोभियत संघको राष्ट्रपति मिखाइल गोर्बाचोभले २५ डिसेम्बर १९९१ मा आफ्नो पदबाट राजीनामा दिए । यससँगै उनले नवनिर्वाचि राष्ट्रपति बोरिस येल्तसिनलाई जिम्मेवारी सुम्पिए । त्यो रात क्रेमलिनमा फहराइरहेको हथौडा र हसियावाला झण्डालाई हटाइयो र रुसी तिरंगा (तीन रंगे झण्डा) फहराइयो ।

भोलिपल्ट सर्वोच्च सोभियतले सोभियत गणराज्यहरूको स्वाधीनता स्वीकार गरी सोभियत संघ (यूएसएसआर)को औपचारिक रूपमा विघटन गर्‍यो । विश्वभर विशेष प्रभाव राखेको सोभियत संघले सत्तरी वर्षसम्म विभिन्न किसिमका राज्यहरू नियन्त्रणमा राखेको थियो र यति विशाल साम्राज्यको अचानक विघटन हुनु विश्व बदल्ने घटना थियो ।

तर यसपछि रुसी संघ नामको नयाँ राष्ट्र अस्तित्वमा आएपछि आफ्नो पहिचानलाई लिएर संकटको सामना गर्नुप¥यो ।

पहिचानको संकट

एल्कानो रोयल इन्स्टिट्युटकी रुस र युरेशिया मामिलाका जानकार मीरा मिल्सेभिक भन्छिन्, “रुस एउटा साम्राज्य भयो, तर पश्चिम जस्तो कहिल्यै एक राष्ट्र–राज्य भएन ।”

यस्तो अवस्थामा सोभियत संघको विघटनसँगै रुसले आफ्नो लागि रुसी पहिचान बनाउन प्रयास थाल्यो । तर यो धेरै जटिल प्रक्रिया थियो किनभने रुस धेरै जाति र राष्ट्रियताहरूको देश हो, त्यहाँ ठूला परम्पराहरू छन् जुन सयको साम्राज्यवादी इतिहाससँग जोडिएका छन् ।

सन् १९९० को दशकमा रुसले आफ्नो राष्ट्रिय पहिचानसँगै पश्चिमी विश्वसँगको सम्बन्धलाई परिभाषित गर्न थाल्यो ।
तर अमेरिका र पश्चिमा देशले रुसलाई सोभियत संघको पतन र शीतयुद्धको अन्त्यपछि सोभियत संघजस्तै महाशक्तिको रूपमा हेर्न छोडे ।

रुसको अन्तर्राष्ट्रिय हैसियतको गिरावट मस्कोको प्रभाव क्षेत्र मानिने पूर्वी यूरोपमा नेटोको विस्तारको रूपमा आयो ।

पुटिनको आगमन

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सोभियत संघको विघटनलाई ‘२० औँ शताब्दीको विश्व राजनीतिको सबैभन्दा नराम्रो त्रासदी’ भनी वर्णन गर्दा उनले यसैतर्फ संकत गरेका थिए । उनको भनाईमा रुसी मामिला हेर्ने पर्यवेक्षकहरू पनि सहमत छन् ।

पुटिनले भनेका थिए, “यो सोभियत संघको नाममा ऐतिहासिक रुसको विघटन थियो । हामी छुट्टै देश बन्यौँ । हामीले एक हजार वर्षमा बनाएका धेरै कुरा गुमायौँ ।”

त्यसकारण पुटिनले सन् २००० मा सत्तामा आएदेखि नै अमेरिका र त्यसका नेटो सहयोगीहरूले वर्षौँसम्म गरेको कथित अपमानपछि रुसलाई फेरि एक पटक विश्व शक्ति बनाउन कटिबद्ध रहेको स्पष्ट पारेका छन् ।

मीरा मिल्सेभिक रुसलाई फेरि एक पटक विश्व शक्तिको रूपमा रणनीतिक भूमिका दिन पुटिन सफल भएको विश्वास गर्छिन् ।

उनी भन्छिन्, “पुटिनले आफूलाई रुसको मसीहाको रूपमा हेर्दछन् किनभने रुस सन् १९९० मा लोकतान्त्रिकरण प्रक्रिया असफल भएपछि रुस पतन र दिवालियापनको अवस्थाबाट गुज्रिरहेको थियो । पुटिनले रुसलाई बचाएर अन्तर्राष्ट्रिय मञ्चमा रणनीतिक भूमिका फिर्ता ल्याए ।”

यो पनि सत्य हो कि नब्बेको दशकपछि पुटिनले आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा सुनिने ठाउँमा पुर्‍याए । नब्बेको दशकलाई रुसमा हराएको दशक मानिन्छ ।

केजीबी जासूसदेखि राष्ट्रपतिसम्म

सोभियत संघको खुफिया एजेन्सी केजीबीमा १६ वर्षसम्म जासूसको रूपमा काम गरेपछि पुटिनले आफ्नो राजनीतिक जीवन सुरु गर्न १९९१ मा राजीनामा दिए ।

यसपछि सन् १९९९ मा पुटिन अन्तरिम राष्ट्रपति चुनिए र त्यसको चार महिनापछि भएको निर्वाचनमा पूर्णकालिक राष्ट्रपति निर्वाचित भए ।

यति मात्र होइन, यसपछि पुटिन सन् १९५३ मा दिवंगत सोभियत नेता जोसेफ स्टालिनपछि सबैभन्दा लामो समय राष्ट्रपति बने । यस वर्षको अप्रिलमा संवैधानिक सुधारमा भएको विवादास्पद राष्ट्रिय मतदानले उनको चौथो कार्यकाल २०२४ मा समाप्त भएपछि पनि सत्तामा रहने मौका दिएको छ । यस्तो अवस्थामा ६९ वर्षीय पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्छन् ।

उनका आलोचकहरूले सोभियत संघको समयमा राष्ट्रपति पुटिनले जुन तरिकाले आफूलाई ढाले, त्यसले नै विश्वलाई हेर्ने दृष्टिकोणलाई आकार दिएको दावी गर्छन् ।

लन्डनको किंग्स कलेजको युद्ध अध्ययन विभागकी प्राध्यापक नताशा कुहर्ट भन्छिन्, “यो स्पष्ट छ कि रुस अन्तर्राष्ट्रिय चर्चामा आएको छ, तर यो सकारात्मक कारणले होइन ।”

उनी भन्छिन्, “यो देख्दा धेरै रोचक छ कि दश वर्ष पहिलेसम्म उनीहरू रुसले आफूलाई आकर्षित गर्नुपर्छ भन्ने गर्थे । उसले सफ्ट पावर प्रयोग गर्नु जरुरी छ ।

अब उनीहरू बदलिएका छन् । अब मस्कोमा कसैले पनि आफूलाई आकर्षित गर्न चाहँदैनन् । उनीहरू रुसलाई विश्वव्यापी मञ्चमा एउटा पात्रको रूपमा हेर्न चाहन्छन् । उनीहरू चाहन्छन् रुसलाई विश्वले स्वीकार गरोस् र सुनोस् पनि । यदि तपाईले रणनीतिक हेरफेरको दृष्टिकोणबाट मात्र सोच्नुहुन्छ भने पुटिनले आफूले चाहेको कुरा पाएका छन् ।”

के हुन् पुटिनका प्राथमिकता

कुनै समय सोभियत संघको नियन्त्रणमा रहेको क्षेत्रमा विदेशी शक्तिको प्रभाव बढ्न नदिइ सोभियत संघको विघटनपछि रुसको हैसियतमा आएको गिरावट रोक्न र पुरानो हैसियत पुनः प्राप्त गर्ने पुटिनको सबैभन्दा ठूलो प्राथमिकता भएको विज्ञहरू बताउँछन् ।

सन् २००८ मा रुसी सेनाले जर्जियामा आक्रमण गर्‍यो ताकि पश्चिमी देशहरूको समर्थक जर्जियाली राष्ट्रपति मिखाइल साकाशभिलीलाई रुस संरक्षित ओसेशियाका पृथकतावादी जर्जियाली क्षेत्रमा फेरि सैन्य कब्जा गर्नबाट रोक्न सकियोस् । यदि साकाशभिलीले आफ्नो विभाजित देशलाई एकताबद्ध गर्न सक्षम भएको भए उनी जर्जियालाई नेटोमा सामेल हुने देश बनाउने आफ्नो लक्ष्यको नजिक पुग्न सक्थे ।

त्यसैगरी सन् २०१४ मा मस्को समर्थक युक्रेनी राष्ट्रपति भिक्टर यानुकोविचलाई पश्चिमा मुलुकले समर्थन गरेको आन्दोलनपछि पदबाट हटाइयो । त्यसपछि रुसले युक्रेनमा सैन्य हस्तक्षेप गरेर क्रिमिया प्रायद्वीपलाई पहिलो पटक कब्जा गर्‍यो । त्यसपछि यसले पूर्वी यूरोपमा रुसी भाषी क्षेत्रमा युक्रेन विरोधी विद्रोहीहरूलाई समर्थन गर्‍यो ।

मीरा भन्छिन् कि यी आक्रमणहरू सोभियत संघको पुनः स्थापनाको लागि पुटिनको कदम थिएन, तर यो रुसको राष्ट्रिय रक्षासँग सम्बन्धित ऐतिहासिक सिद्धान्तको कुरा थियो ।

उनी भन्छिन्, “आफ्नो प्रभाव क्षेत्रको रक्षा गर्ने प्रयासहरू रुसको राष्ट्रिय सुरक्षाको विचारसँग जोडिएको छ, जसले यी उपायहरूलाई राष्ट्रिय हितको रक्षाको रूपमा हेर्छ । यतिबेला रुसले आफू र आफ्ना सम्भावित शत्रुहरूबीच दूरी कायम राख्न चाहन्छ र रुसले नेटोलाई आफ्नो राष्ट्रिय सुरक्षाको सबैभन्दा ठूलो खतरा मानेको छ । उसले आफ्नो सीमामा नेटो चाहँदैन ।”

हतियारको शस्त्रागार

सोभियत संघको पतनपछि रुसले परमाणु हतियारहरूको विशाल भण्डार विरासतमा प्राप्त गर्‍यो । यद्यपि, रुसले आफ्नो परमाणु भण्डारमा उल्लेख्य कमी गरेको छ । तर पनि रुससँग अमेरिकापछि सबैभन्दा धेरै परमाणु हतियार छ ।

सन् २०१८ मा पुटिनले आफ्नो राष्ट्रिय सम्बोधनमा नयाँ शक्तिशाली परमाणु हतियार भएको दावी गरेका थिए । र जुन चुनावले उनलाई ६ वर्षको कार्यकाल दियो, त्यसको केही दिनअघि उनले वरिष्ठ अधिकारी र सांसदहरूका अगाडि महत्वकांक्षी लक्ष्यहरू राखे । रुसलाई दबाउन खोजेको आरोप लगाउँदै उनले पश्चिमी मुलुकलाई गम्भीर चेतावनी दिए ।

रुसले सरमत नामको नयाँ आईसीबीएम (इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल) परीक्षण गरेको पुटिनले बताए । यस परीक्षणको लागि अमेरिकालाई जिम्मेवार ठहराउँदै उनले रुसलाई समयको आवश्यकता अनुसार आफ्नो परमाणु हतियारको शस्त्रागार तयार गर्न बाध्य पारको तर्क गरे । किनभने अमेरिका सन् २००२ मा एबीएम (एन्टी ब्यालिस्टिक मिसाइल) सन्धिबाट बाहिरिएको थियो ।

पुटिनले सन् २००४ मा आफूले त्यस्ता कदम चाल्न गइरहेको भन्दै पश्चिमा राष्ट्रहरूलाई चेतावनी दिएको तर पश्चिमी देशहरू रुससँग वाता गर्न नचाहेको बताए । “त्यसबेला हाम्रो कुरा कसैले सुन्न चाहेन,” देशभर प्रसारण भएको टेलिभिजन सम्बोधनमा पुटिनले भने, “त्यसैले अब हाम्रो कुरा सुन्नुहोस् ।” त्यसयता रुस आफ्नो परमाणु हतियारको आधुनिकीकरणमा व्यस्त छ ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्युट (सिप्री) ले सन् २०२१ मा रुससँग गत वर्षको तुलनामा थप ५० हतियार रहेको जानकारी दिएको छ । रुसले आफ्नो कुल परमाणु हतियारमा एक सय ८० परमाणु हतियार थपेको छ । यसको मुख्य कारण जमीनमा आधारित आईसीबीएम जसमा धेरै हतियार छन् र समुद्रबाट प्रक्षेपण गरिने ब्यालिस्टिक मिसाइल छन् । जसका कारण आज विश्वले रुसको कुरा सुनिरहेको मात्र छैन, उसँग डराएको पनि छ ।

अन्तर्राष्ट्रिय प्रभाव

रुसलाई महाशक्ति बनाउने दिशामा रुसले सोभियत युगमा रणनीतिक रूपमा महत्वपूर्ण रहेको ल्याटिन अमेरिकासँग पनि आफ्नो सम्बन्धलाई मजबुत बनाउन थाल्यो । मीरा भन्छिन्, “अन्तर्राष्ट्रिय संस्था र कूटनीतिक क्षेत्रमा सोभियत संघले जुन भूमिका खेल्दथ्यो, अहिले रुसले त्यही भूमिका खेलिरहेको छ । रुसले परम्परागत सोभियत सम्बन्धको फाइदा उठाउँदै उनीहरूलाई अगाडि बढाइरहेकोमा कुनै शंका छैन, यसमा ल्याटिन अमेरिका एक उदाहरण हो ।”

विज्ञहरू ल्याटिन अमेरिकामा रुसको उपस्थिति यस क्षेत्रमा अमेरिकी नेतृत्वलाई कमजोर पार्ने र उदीयमान शक्ति चीनसँग प्रतिस्पर्धा गर्ने फराकिलो रणनीतिको हिस्सा भएको बताउँछन् ।

मीरा भन्छिन्, “पुटिन एक महान् रणनीतिकार हुन् र उनले यो प्रमाणित गरिसकेका छन् । उनी अमेरिकाको तुलनामा कम आर्थिक, सैन्य र राजनीतिक लागतमा मध्यपूर्वमा रुसलाई स्थापित गर्न सफल भए । अहिले मध्यपूर्वमा रुसलाई बेवास्ता गर्न सकिँदैन । र यो एकमात्र रणनीतिक पक्ष हो जसले हिजबुल्लाहदेखि लिएर साउदी अरबका राजासँग कुरा गर्छ ।”

यति मात्र होइन रुस पाँच सदस्यीय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य पनि हो । रुसलाई यो स्थान पनि सोभियत संघबाट मिलेको हो जसले उसलाई संयुक्त राष्ट्र संघमा भिटो शक्ति दिन्छ । बीबीसीबाट

वि.सं.२०७८ पुस १८ आइतवार १४:५९ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...