काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे निर्वाचन अयोगविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।
विवेकशील साझा पार्टीमा बैद्यानिकता बारे जारी विवादको सिलसिलामा रविन्द्र मिश्रले अवैद्यानिक ढंगले बोलाएर गरेको किर्ते माइन्युट अभिलेख गर्ने निर्वाचन आयोगको निर्णयमा पुनरावलोकन गर्न संयोजक पाण्डेले दिएको निवेदनमा आयोगले ‘निर्णय गर्न नचाहेको’ भनेर प्रतिक्रियादिएको भन्दै सर्वोच्च अदालत जाने बताएका हुन् ।
पाण्डे समूहले दिएको निवेदनमा निर्वाचन आयोगले ‘निर्णय गर्न नचाहेको’ भनेर दिएको प्रतिक्रिया कानुन विपरीत र अन्यायपूर्ण रहेको र त्यसलाई अस्वीकार्य मान्दै उक्त निर्णयको कानुनी परीक्षणका लागि छिट्टै सर्वोच्च अदालत जाने उक्त पार्टीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘पार्टीको विधान विपरीत नीति र नेतृत्व परिवर्तन गर्ने जस्तो गम्भीर निर्णय भएको एकल बैठक जहाँ उपस्थित भएर असहमति जनाएका र बैठकमै उपस्थित नरहेका सबैको सहमति छ भनेर किर्ते माइन्युट बनाइयो, त्यो बैठकको बैद्यानिकता उपर उजरी दिँदा समेत बिना जाँचबुझ सदर गर्ने निर्णय गर्नुमा आयोगको के बाध्यता थियो ? अदालतमा आयोगले जवाफ दिनेछ ।’ पार्टीका प्रवक्ता हरीप्रशाद भट्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ पुस २० मंगलवार १०:२१ मा प्रकाशित



























