काठमाडौं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सीडीओहरु आन्तरिक छलफलमा जुटेका छन् । स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने तयारी स्वरुप काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सीडीओहरु छलफलमा जुटेका हुन् । उपत्यकामा कोरोनाको संक्रमण ह्वात्तै बढेसँगै स्वास्थ्य मापदण्डको कडाई गर्ने तयारी सीडीओहरुको छ ।
“मापदण्ड पालनामा कडाइ गर्ने, मास्क अभियान चलाउने, परीक्षण र खोपको दायरा बढाउने तयारी छ”, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनेकी छिन्, “हामी छलफलमा छौं, छिट्टै कार्यक्रम सार्वजनिक गर्छौं ।”
उनले जनाएअनुसार आइतबार दिउँसो कोरोनाको बढ्दो जोखिमबारे छलफल गर्न सर्वपक्षीय बैठक डाकिएको छ । सर्वपक्षीय छलफल पछि तीनै जिल्लाको बैठक बसेर थप निर्णय लिने उनले जनाइन् ।
ललितपुरले पनि स्वास्थ्य मापदण्डलाई कडाई गर्ने तयारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज नै छलफल बोलाइएको जानकारी दिए ।
यता काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीको निर्णय आएलगत्तै थप रणनीति बनाउन तीन जिल्लाको बैठक बसाल्ने योजना बनेको बताए । उनले कडाइ गर्नुको विकल्प नदेखिएको बताएका छन् ।
वि.सं.२०७८ पुस २५ आइतवार १५:०१ मा प्रकाशित




























