काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढेसँगै सरकारले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै मानिसहरुको बढी जमघट हुने क्षेत्रलाई तत्काल बन्दको नीति लिएको छ । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै सोमबारदेखि माघ १५ सम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सिनेमा, यातायात तथा बजार क्षेत्रमा पनि कडाई गर्ने नीति लिएको छ ।
सरकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै कडाईको नीति लिईरहँदा कतै पुनः लकडाउन नै गर्न लागेको त होइन भन्ने प्रश्न उब्जिएको छ । धेरैलाई लकडाउन हुने चिन्ताले सताएको देखिन्छ ।
नयाँ–नयाँ भेरियन्टको महामारी थेग्न नसक्ने अवस्थामा पुग्यो भने सरकार त्यो विकल्पमा जान बाध्य हुने कुरा स्वभाविक हो । तर, अहिलेकै अवस्थामा सरकार त्यतातिर जान्छ वा जाँदैछ प्रश्न कायमै छ ।

‘हाम्रो अर्थतन्त्रले लकडाउन थेग्न सक्दैन’
अफबाका बीच अर्थमन्त्री जनार्दन शर्माले भने लकडाउनलाई थेग्न सक्ने अवस्था नभएको बताए । उनले सरकारले त्यस्तो सोंच नबनाएको पनि बताए ।
“फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ”, बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन)को वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै उनले भने, “अब हामीले लकडाउनको बाटो अपनाउनु हुँदैन, फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन । फेरि लकडाउनको आशंका नगर्नु ।”
उनले थला परेको अर्थतन्त्र भर्खरै चलायमान हुन थालेकाले अन्य उपाय अवलम्बन गर्नुपर्ने बताए । “कोरोना महामारीका कारण धेरै समस्या भएको हो”, अर्थमन्त्री शर्माले भने, “अहिले फेरि लकडाउन हुने हो कि भन्ने आशंका गरिएको छ, त्यो बाटो अब हिँड्नु हुँदैन ।”
वि.सं.२०७८ पुस २६ सोमवार १५:४७ मा प्रकाशित






























