काठमाडौं । नाइल नदीको किनारमा नाचिरहेको एक शिक्षकको भिडियोले इजिप्टमा निकै तहल्का मच्चियो । इजिप्ट इन्डिपेन्डेन्टको रिपोर्टका अनुसार शिक्षिका अया युसुफलाई नाचेकै कारण उनका श्रीमानले डिभोर्स गरे । नाचेकै कारण उनलाई शिक्षकको जागिरबाट निकालियो ।
सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा अया युसुफ पुरुष सहकर्मीहरुका साथ नाचिरहेकी देखिन्छिन् । उनी डकालिया प्रान्तको एक प्राथमिक विद्यालयमा अरबी शिक्षिका थिइन ।
उनले आफुँलाई थाहा नदिइ भिडियो खिचिएको र त्यही भिडियोका आधारमा आफुँलाई पेशाबाट निकालिएको भन्दै आफुँ निकै अन्यायमा परेको बताएकी छिन् । उनले उक्त भिडियो खिच्ने र भाइरल बनाउने पत्रकारमाथि कारबाही माग गरेकी छिन् ।
बीबीसीका अनुसार उक्त भिडियोले इजिप्टका रूढीवादीहरूमा आक्रोश पैदा गरेको छ। यद्यपि, युसुफलाई आफ्नो देशका महिला अधिकारकर्मीहरूको समर्थन प्राप्त भइरहेको छ, जसले उनलाई ‘विच हन्ट’ को शिकार भएको वर्णन गरेका छन्।
इजिप्टको महिला अधिकार केन्द्रका प्रमुख डा निहाद अबु कुमसानले गलत तरिकाले बर्खास्त गरेको विरुद्ध उजुरी दर्ता गर्न मद्दत गर्ने प्रस्ताव राखेका थिए भने इजिप्टको एक माध्यमिक विद्यालयका उप-निर्देशकले आफ्नी छोरीको विवाहमा नाच्दै गरेको फोटो पनि सेयर गरेका थिए।
वि.सं.२०७८ पुस २९ बिहीवार ११:३७ मा प्रकाशित
























