काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा सामाजिक सञ्जालमार्फत दुईवटा स्टाटस सार्वजनिक गर्दै सरकारका कामप्रति नआत्तिन आग्रह गरेका छन्। पहिलो स्टाटसमा उनले ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’ भन्दै धैर्य गर्न आग्रह गरेका थिए।
त्यसको करिब १० घण्टापछि पुनः अर्को स्टाटस लेख्दै प्रधानमन्त्री शाहले सरकारले सुरु गरेका विभिन्न कामहरूको फेहरिस्त प्रस्तुत गरेका छन्। उनले बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानलाई पुनः सञ्चालन तथा प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै देशलाई आत्मनिर्भर बनाउने यात्रामा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले वर्षौंदेखि बन्द रहेका र घाटामा थलिएका राष्ट्रिय उद्योगहरू फेरि आफ्नै खुट्टामा उभिन सक्लान् कि नसक्लान् भन्ने आशंका स्वाभाविक भए पनि नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा समेत सुधारका नयाँ ढोका खोल्न सकिने बताएका छन्।
सरकारले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवन दिने प्रयास गरिरहेको उल्लेख गर्दै उनले केही क्षेत्रमा आशालाग्दा परिणाम देखिन थालेको दाबी गरेका छन्। उनका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ ९जीएमपी० मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको प्रधानमन्त्रीको भनाइ छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको उनले बताएका छन्। तान मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको उनले उल्लेख गरेका छन्।
नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार आएको प्रधानमन्त्री शाहको दाबी छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको र यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी भएको उनले बताएका छन्। उक्त अवधिमा निगमको सिट उपयोगिता ८६ प्रतिशत पुगेको र जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत भुक्तानी गरिएको उनले उल्लेख गरेका छन्।
दुग्ध विकास संस्थान ९डीडीसी० मा किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्रीको भनाइ छ। उनका अनुसार किसानको भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको तथा दैनिक बिक्री बढेर औसत दैनिक राजस्व ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको उनले बताएका छन्। कर्मचारीलाई कानुनविपरीत वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको पनि उनले उल्लेख गरेका छन्।
डीडीसीबाट चाँडै खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको र नगरकोट केन्द्रबाट पुनः चिज उत्पादन सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्रीले बताएका छन्।
यसैगरी, सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको उनले बताएका छन्। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको दाबी छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको तथा चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम राख्न सके रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानमा समेत नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्।
उनले अन्त्यमा “माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ” भन्दै नागरिकसँग सरकारको अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।
वि.सं.२०८३ साउन २३ शनिवार १०:१० मा प्रकाशित






























